२१ दिनपछि कालीगण्डकी करिडोर प्रसारणलाइन संचालनमा, राष्ट्रिय प्रणालीमा जोडियो

बिजमाण्डू
२०८३ कात्तिक २ गते ११:३८ | Oct 18, 2026
२१ दिनपछि कालीगण्डकी करिडोर प्रसारणलाइन संचालनमा, राष्ट्रिय प्रणालीमा जोडियो


काठमाडौं ।असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइन अन्तर्गतको म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः संचालनमा आएको छ।

GBIME
Tata

नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली (इआरएस ) टावर प्रयोग गरि उक्त खण्डलाई अस्थायी रूपमा संचालनमा ल्याएको हो।

शनिबार राति सवा १० बजे प्रसारण लाइनको २२० केभीको एउटा सर्किटलाई चार्ज गरेर अस्थायी रुपमा संचालनमा ल्याइएको छ।

बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित प्रसारण लाइनका ४ वटा टावरमा क्षति पुर्‍याएको थियो। तीमध्ये टावर नम्बर २१, २३ र २४ पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने टावर नम्बर २२ मा आंशिक क्षति पुगेको थियो।

प्रसारण लाइन अवरुद्ध भएपछि दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका निजी क्षेत्रका पाँच जलविद्युत् आयोजनाबाट उत्पादित कुल १७० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुन सकेको थिएन।

लाइन संचालनमा आएसँगै उक्त आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा पुनः जोडिएको छ।

स्थायी टावर निर्माण सम्पन्न भएपछि प्रसारण लाइनको दाना–राहुघाट खण्ड नियमित अवस्थामा संचालनमा आउने छ। कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् एकीकृत गरेर राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्ने उद्देश्यले कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा र रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३ स्थित नयाँ बुटवल सबस्टेसनसम्म पुग्ने यस प्रसारण लाइनको कुल लम्बाइ करिब १३० किलोमिटर छ। प्रसारण लाइनले करिब १ हजार २ सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने क्षमता राख्छ।