निक्कीमा सुनिल केसीको कार्यकाल : सचिवालय बनाए सुदृढ, व्यापारिक अप्ठ्यारा हटाउन सहजीकरण

बिजमाण्डू
२०८३ असोज ३० गते १८:१० | Oct 16, 2026
निक्कीमा सुनिल केसीको कार्यकाल : सचिवालय बनाए सुदृढ, व्यापारिक अप्ठ्यारा हटाउन सहजीकरण


काठमाडौं। नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बर (निक्की)मा नयाँ नेतृत्व आएको छ। दुई वर्षे कार्यकाल पूरा गरेसँगै सुनिल केसीले नेतृत्व हस्तान्तरण गरेका छन्। उनको स्थानमा कुनाल कायल नयाँ अध्यक्ष बनेका छन्।

GBIME
Tata

केसीले आफ्नो दुई वर्षे अवधिमा सचिवालयको रिफर्म, सरकारसँगको सम्वन्ध विस्तारसँगै निक्कीमा समावेशी सदस्यहरुको प्रवेश भएको थियो। केसीको कार्यकालयमा स्वदेश र विदेशका स्कलरहरु ल्याएर लगानीमैत्री वातावरण बनाउन प्रभावकारी भूमिका खेलेका थिए।

केसीले नेतृत्व सम्हाल्दा निक्कीमा सदस्यताको दायरा विस्तार गर्ने र विभिन्न क्षेत्रका उद्योगी व्यवसायीलाई संस्थामा आबद्ध गराउनेतर्फ प्रमुखता दिए। उनले नयाँ उद्यमी तथा व्यवसायीलाई संस्थामा प्रवेश गराए। यसबाट निक्कीमा प्रतिनिधित्व गर्ने व्यावसायिक क्षेत्रको दायरा फराकिलो बन्यो। यसले संस्थालाई केही सीमित व्यावसायिक स्वार्थमा मात्र केन्द्रित नराखी फराकिलो निजी क्षेत्रको प्रतिनिधित्व गर्ने संस्थाका रूपमा विकास हुनेतर्फ गएको छ।

‘निक्की केही समूहको घेरामा मात्रै सीमित थियो। त्यसलाई विस्तार गरेर नयाँ उद्यमीहरुको प्रवेश उनकै पालमा भएको हो,’ निक्कीका एक कार्यसमिति सदस्यले बिजमाण्डूसँग भने, ‘उनी आफू देखिनेभन्दा पनि सचिवालयलाई एक्टिभ बनाउने काम गरे। ७० प्रतिशतभन्दा बढी व्यापार हुने भारतसँगका व्यापार मुद्दालाई सहजीकरणमा उनले प्रभावकारी भूमिका खेले।’

केसीले संस्थाको नेतृत्वमा रहँदा व्यक्तिगत प्रचारभन्दा संस्थागत संरचना सुधारमा ध्यान दिए। व्यावसायिक संस्थामा नेतृत्व परिवर्तनसँगै नयाँ व्यक्ति आउने भएपनि संस्थाको कार्यशैली, सचिवालयको क्षमता र सदस्यसँगको सम्बन्धले दीर्घकालीन प्रभाव पार्छ। यही पक्षलाई ध्यानमा राखेर केसीले संस्थाको आन्तरिक प्रणाली व्यवस्थित बनाउन प्रयास गरेका थिए।

उनले आफ्नो पालामा सचिवालय सुदृढीकरण गर्नका लागि कर्मचारीको संख्या १० पुर्‍याएका थिए। त्यसअघि तीन जनाको भरमा निक्कीको सचिवालय चलेको थियो। उनकै पालामा संस्थापक अध्यक्ष प्रभाकर शमशेर राणाको स्मृतिमा प्रथम प्रभाकर एसजेबी राणा मेमोरियल लेक्चर: लिडरसीप, भिजन एण्ड लिगेसी कार्यक्रम गरेको थियो। संघ स्थापना भएको तीन दशक पुगेको अवसर पारेर गरिएको कार्यक्रममा अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)का कार्यकारी निर्देशक डा, कएष्णमुर्थी भेंकटा सुब्रमनियम आएका थिए। यो कार्यक्रममा सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ शमशेर राणाले मन्तब्य राखेका थिए।

https://bizmandu.com/wp-admin/post.php?post=461609&action=edit

नेपाल-भारत उद्योग वाणिज्य संघले संस्थापक अध्यक्ष स्वर्गीय प्रभाकर शमशेर राणाको सम्झनामा आयोजना गरेको पहिलो लेक्चर सिरिजमा सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ शमशेर राणाले समेत आफ्नो धारणा राखेका थिए। उनले-‘हामी क्रोनिज्मको चक्करबाट बाहिर नआएसम्म नेपालले समृद्धि प्राप्त गर्न सक्दैन’ भन्ने धारणा राखेका थिए।

‘हामी क्रोनिज्मको चक्करमा फसेको देखिन्छौं। जबसम्म हामी यस मानसिकताबाट बाहिर आउँदैनौं, नेपालले समृद्धि प्राप्त गर्न सक्दैन। त्यसैले अब नेपालको आवश्यकता के हो भन्नेतर्फ हामीले मनन् गर्न र देशका लागि उपयुक्त योजनाको बाटो तय गर्न ढिला भैसकेको छ,’ उनले भनेका थिए।