काठमाडौं। विश्व क्रिकेट इतिहासकै चर्चित तीव्र गतिका बलरमध्ये एक पाकिस्तानका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर शोएब अख्तर नेपाल आउने भएका छन्।
हिमालय स्पोर्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विशेष प्रसारणका लागि अख्तरलाई आफ्नो प्रि तथा पोस्ट म्याच कार्यक्रम ‘रेडबुल क्रिकेट लाइभ इन एसोसिएसन विथ बजाज पल्सर’मा विशेष अतिथिका रूपमा अनुबन्ध गरेको छ।
हिमालय स्पोर्ट्सले प्रसारण अधिकार प्राप्त गरेको एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा हुँदैछ।
विश्व क्रिकेटमा ‘रावलपिन्डी एक्सप्रेस’ उपनामले परिचित अख्तर आफ्नो असाधारण गति, आक्रामक बलिङ शैली र प्रभावशाली व्यक्तित्वका कारण विश्वभर लोकप्रिय छन्।
सन् २००३ को आईसीसी क्रिकेट विश्वकपमा इंग्ल्यान्डविरुद्ध प्रति घण्टा १६१.३ किलोमिटरको गतिमा बलिङ गर्दै उनले क्रिकेट इतिहासकै सबैभन्दा तीव्र गतिमा रेकर्ड गरिएको बल फ्याँकेका थिए। त्यो कीर्तिमान आजसम्म पनि कायम छ।
सन् १९९७ देखि २०११ सम्म पाकिस्तानको राष्ट्रिय टोलीबाट अख्तरले ४६ टेस्टमा १७८, १६३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा २४७ र १५ टी-२० अन्तर्राष्ट्रिय खेलमा १९ विकेट लिएका छन्। सचिन तेन्दुलकर, राहुल द्रविड र ब्रायन लारा जस्ता विश्वप्रसिद्ध ब्याट्सम्यानविरुद्धको उनको प्रतिस्पर्धा क्रिकेट इतिहासका स्मरणीय क्षणमध्ये पर्छ।
हिमालय स्पोर्ट्सको विशेष क्रिकेट प्रसारणमा अख्तरले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट अनुभव, खेलको प्राविधिक विश्लेषण तथा नेपाली क्रिकेटको सम्भावनाबारे विचार प्रस्तुत गर्नेछन्।
क्रिकेट प्रेमीहरूले विश्व क्रिकेटका महान खेलाडीमध्ये एक अख्तरको अनुभव र दृष्टिकोण प्रत्यक्षरूपमा सुन्ने अवसर प्राप्त गर्नेछन्। नेपाल भ्रमणका क्रममा अख्तर क्रिकेटसम्बन्धी विशेष अन्तरक्रिया तथा प्रशंसकहरूसँगको भेटघाट कार्यक्रममा समेत सहभागी हुनेछन्।
हिमालय स्पोर्ट्सका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुरज गिरीले अख्तरको सहभागितालाई नेपाली खेल प्रसारण क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको बताएका छन्।
‘शोएब अख्तर एउटा नाम मात्र होइन, विश्व क्रिकेटको एउटा युगको प्रतिनिधित्व गर्ने व्यक्तित्व हुनुहुन्छ। उहाँलाई हिमालय स्पोर्ट्सको प्रसारणमा स्वागत गर्न पाउनु हाम्रा लागि गर्वको विषय हो। नेपाली दर्शकलाई विश्वस्तरीय क्रिकेट प्रसारणसँगै अन्तर्राष्ट्रिय क्रिकेटका महान व्यक्तित्वहरूको अनुभव र विश्लेषण उपलब्ध गराउने हाम्रो प्रतिबद्धताको यो अर्को महत्त्वपूर्ण कदम हो,’ गिरीले भने।
हिमालय स्पोर्ट्सले यसअघि भारतीय खेल प्रसारण क्षेत्रमा अनुभव हासिल गरेका प्रस्तोता नवनीतकृष्ण, आयरल्यान्डका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा सन् २०११ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध ऐतिहासिक शतक प्रहार गरेका केभिन ओ’ब्रायन र नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी तथा फ्रेन्चाइज क्रिकेटमा समेत अनुभव भएका बरदान चालिसेलाई आफ्नो प्रसारण टोलीमा घोषणा गरिसकेको छ।










