प्रहरीको दरबन्दी बढाउँदै सरकार, व्यावसायिक रूपमा काम गर्न गृहमन्त्री सुधन गुरुङको निर्देशन

बिजमाण्डू
२०८३ असोज ३० गते ११:५० | Oct 16, 2026
प्रहरीको दरबन्दी बढाउँदै सरकार, व्यावसायिक रूपमा काम गर्न गृहमन्त्री सुधन गुरुङको निर्देशन


काठमाडौं। सरकारले नेपाल प्रहरीमा दरबन्दी बढाउने भएको छ। गृहमन्त्री सुधन गुरुङले दरबन्दी थप गर्न प्रस्ताव गरिसकेको बताएका छन्।

GBIME
Tata

उनले ७१औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत दरबन्दी थप गर्न प्रस्ताव गरिएको बताएका हुन्।

उनले प्रहरीका लागि आवश्यक पूर्वाधार र प्रविधिमा लगानी गर्नु आफ्नो पहिलो प्राथमिकता भएको भन्दै सरकारको गति र भावनाअनुसार व्यावसायिक रूपमा काम गर्न प्रहरीलाई निर्देशन दिए।

‘नागरिकले राज्यसँग राखेको अपेक्षा पूरा गर्न सरकारको गति र भावनाअनुसार तपाईंहरूले समेत व्यावहारिक र व्यावसायिक रूपमा आफूलाई रूपान्तरण गर्दै जान जरुरी छ। अबका दिनमा गुनासो तथा जाहेरी दर्तादेखि अनुसन्धानको क्रममा नागरिकलाई केन्द्रमा राखी कार्य सम्पादन गर्नुहोला,’ उनले भने, ‘प्रहरीले आफ्नो आचरण र कार्यशैली नागरिकमैत्री बनाउन तथा अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन आवश्यक छ।’

गृहमन्त्री गुरुङले प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी गरिरहेको बताए। ‘प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न सरकारले पहल गरिरहेको छ। आवास, स्वास्थ्यलगायत सेवा सुविधा तथा सरुवा बढुवालाई व्यवस्थित गरिनेछ,’ उनले भने।

उनले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने स्पष्ट पार्दै सूचनाको संरक्षण र गोपनीयता कायम राख्नका लागि जिम्मेवार बन्न प्रहरीलाई निर्देशन दिए।

उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल फोरेन्सिक, साइबर तथा वित्तीय अपराध अनुसन्धान र डिएनए फोरेन्सिक तथा डीएनए प्रोफाइलिङजस्ता आधुनिक विषयमा क्षमता बढाउन पनि निर्देशन दिए।