काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले आर्थिक गतिविधि बढ्ने नीति लिन सरकारसँग आग्रह गरेको छ।
एफउनसीसीआईको टोलीले बिहीबार सिंहदरबार पुगेर पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेट गरी नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माणका लागि आग्रह गरेको हो।
एफएनसीसीआईका अध्यक्ष अञ्जन श्रेष्ठ मुलुकमा लगानीको वातावरण निर्माण, व्यवसाय सञ्चालनमा देखिएका नीतिगत तथा व्यावहारिक कठिनाइको समाधान, बाढीपहिरोपछि प्रभावित आर्थिक गतिविधि पुनरुत्थान र निर्यात प्रवर्धनका लागि सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने बताए।
‘सरकार सबैको अभिभावक हो। निजी क्षेत्र उत्पादन र उत्पादकत्व वृद्धि, निर्यात विस्तार तथा रोजगारी सिर्जनामार्फत अर्थतन्त्रलाई गतिशील बनाउन सधैं तयार छ। यसका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक छ,’ श्रेष्ठले भने।
उनले उद्योगी व्यवसायीले भोगिरहेका नीतिगत, प्रशासनिक तथा व्यावहारिक समस्या पहिचान गरी समाधान गर्न र लगानी विस्तारमा देखिएका अवरोध हटाउन आग्रह गरे।
जवाफमा मन्त्री लम्सालले व्यवसायमैत्री वातावरण निर्माणका लागि नीतिगत सुधार लगायत काम सरकारले गरिरहेको भन्दै निजी क्षेत्रले भोगिरहेका समस्याबारे स्पष्टसँग कुरा राख्न आग्रह गरे। उनले आर्थिक गतिविधि बढाउनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएको एफउनसीसीआईले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
‘निजी क्षेत्रका समस्याहरु के के छन्। के कस्ता कानुनी सुधार गर्दा देशमा आर्थिक गतिविधि बढ्छ। रोजगारी सिर्जना हुन्छ। अर्थतन्त्र चलायमान हुन्छ। सरकार त्यो गर्न तयार छ। ती समस्या निजी क्षेत्रले खुलस्त राखोस्,’ मन्त्री लम्सालले भने।









