काठमाडौं। सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल टेलिकमको सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ। सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले बुधबार ‘हुलाक-सिम सेवा’ शुभारम्भ गरेका छन्।
अब नागरिकले टेलिकमको सिमकार्ड लिन टेलिकम कार्यालय पुग्नुपर्दैन। ग्राहकले अनलाइनमा आवेदन दिई आफ्नो नयाँ प्रिपेड ‘फिजिकल’ सिमकार्ड हुलाकमार्फत घरदैलोमा प्राप्त गर्न सक्नेछन्।
सेवाग्राहीले esim.ntc.net.np मा लगइन गरी ‘पोस्टल सिम पोर्टल’मा क्लिक गरेर आवश्यक विवरण उपलब्ध गराउनुपर्नेछ। अनलाइनमार्फत व्यक्तिगत विवरण र नजिकको ठेगाना, फोटो र नागरिकता/राहदानीको फोटोसँगै नजिकको टेलिकमको काउन्टर छनोट गरी आवेदन पेस गर्नुपर्नेछ।
टेलिकमले कागजात जाँच र आवेदन स्वीकृत गरेपछि अनलाइनबाटै भुक्तानी गर्न सकिनेछ। सिमका लागि ९० रुपैयाँ र हुलाक डेलिभरीका लागि ७० रुपैयाँ शुल्क लाग्ने छ। यो रकम जुनसुकै बैंकिङ एप वा डिजिटल वालेट वा नमस्ते पेबाट भुक्तानी गर्न सकिनेछ।
त्यसपछि सेवाग्राहीलाई नजिकको हुलाक कार्यालयबाट सिम पठाइने सञ्चारमन्त्री तिमिल्सिनाको सचिवालयले जनाएको छ। सिम कहाँ पुग्यो भन्नेबारेमा समेत ट्र्याकिङ गर्न सकिने व्यवस्था गरिएको छ।
शहरी क्षेत्रमा अनलाइन आवेदन स्वीकृत र भुक्तानी भएको करिब दुई घण्टा तथा ग्रामीण भेगमा तीन दिनमा आवेदकलाई सिमकार्ड उपलब्ध गराउने लक्ष्य राखिएको छ।










