काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को चुक्ता पुँजी १ अर्ब ६७ करोड भन्दा बढी पुगेको छ।
एनसीएचएलको बुधबार भएको १५औं वार्षिक साधारण सभाले १५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेसँगै कम्पनीको चुक्ता पुँजी १ अर्ब ६७ करोड ७२ लाख ८८ हजार रुपैयाँ पुगेको हो।
साधारण सभाले १५% बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.७८% नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ। एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५% र बैंक तथा वित्तीय संस्थाहरुको ९०.५५% लगानी छ।
वृद्धि भएको पुंँजी नेसनल पेमेन्ट प्रणाली, नेसनल तथा क्रसबोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली, डीपीआईका लागि थप पूर्वाधार विकास तथा जोखिम व्यवस्थापनलाई सुढृढ बनाउन र सञ्चालनमा रहेका पूर्वाधारको स्तरोन्नतिका लागि प्रयोग गरिने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
साधारण सभाले लेखापरीक्षण प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ।
गत आवमा एनसीएचएलको भुक्तानी प्रणालीमार्फत कुल २१० खर्ब बराबरको २३.८२ करोड भुक्तानी कारोबार राफसाफ भएको थियो। कम्पनीले ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।










