काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनारमाथि अनुसन्धानका लागि प्रहरी निर्देशन कुरेर बसेको छ।
उजुरी नपरेको र गृह मन्त्रालयबाट निर्देशन नआएको भन्दै प्रहरी फौजदारी कसूर आकर्षित हुने मुद्दामा मौनता साँधेर बसेको हो।
खगेन्द्रले केही समययता प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउँदै आएका छन्। जसले गर्दा प्रहरी सुन्नै नसकिने खालको अडियो बाहिर आउँदा पनि खगेन्द्रमाथि अनुसन्धानका लागि प्रोएक्टिभ भएको छैन। प्रहरी यतिखेर तालुकवाला गृह मन्त्रालयको निर्देशन कुरेर बसेको छ।
‘गृह मन्त्रालयबाट केही निर्देशन आयो भने हामी अनुसन्धान थाल्छौं,’ एक उच्च प्रहरी अधिकृतले भने।
खगेन्द्रले फोनमार्फत पैसा माग्दै अपशब्द बोल्नुका साथै ज्यान मार्ने धम्की दिएकी बागमती प्रदेशकी पूर्वमन्त्री समेत रहेकी महिलाले प्रहरी वा अन्य निकायमा उजुरी दिएकी छैनन्। ‘उजुरी नपरेको र निर्देशन पनि नआएका कारण हामीले प्रोएक्टिभ भइहाल्ने अवस्था छैन,’ ती उच्च अधिकृतले भने।
बाहिरिएको अडियोको आधारमा खगेन्द्रमाथि साइबर अपराध र ज्यान मार्ने उद्योगसम्मको कसूरमा अनुसन्धान गर्नुपर्ने देखिन्छ। सामाजिक सञ्जालमा आएको अडियोका आधारमा प्रहरीले अनुसन्धान गर्न नसक्ने होइन। तर, खगेन्द्र सत्तारुढ दलका सांसद भएकाले प्रहरीले आममानिसको हकमा जस्तो अग्रसरता देखाएको छैन।
खगेन्द्रले महिलाको आत्मसम्मानमा चोट पुग्ने गरी दिएको धम्कीपूर्ण अडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। प्रविधिको प्रयोग गरेर आफूमाथि गलत आक्षेप लगाइएको खगेन्द्रको दाबी छ।
रास्वपाले महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता विषय अत्यन्त गम्भीर र संवेदनशील भएको भन्दै खगेन्द्रलाई सार्वजनिक कार्यक्रममा जान रोक लगाएर छानबिन गरिरहेको बताएको छ।
प्रहरीले यसरी गर्न सक्छ अडियो परीक्षण
प्रहरीको पहिलो अनुसन्धान सामाजिक सञ्जालमा आएको अडियोको परीक्षण नै हो। खगेन्द्रले अडियो वास्तविक नभएको दाबी गरेका कारण प्रहरीलाई पीडित महिलाको साथ चाहिन्छ। दुई जनाबीचको फोन कुराकानीमा सुन्ने व्यक्ति कोही भए प्रहरीले उबाट पनि प्रमाण जुटाउन सक्छ।
‘तर प्राविधिकरुपमा अडियो चाहिं परीक्षण गर्नैपर्छ,’ ती उच्च अधिकृतले भने। अडियो परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला छ। जसले डिजिटल तथा भौतिक प्रमाण र भ्वाइस जाँच गर्न सक्छ। अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पनि भ्वाइस टेस्ट गर्ने विधि छ।
देशभित्र रहेको प्रविधिबाट सम्भव नभएमा प्रहरीले अन्य देशमा पठाएर पनि अडियो परीक्षण गराउने गरेको छ। टिकटक फेसबुक लगायतमा आएका अडियोलाई प्रहरीले सम्बन्धित सामाजिक सञ्जालका कार्यालयमा पनि पठाउने गरेको छ।
यसअघि कांग्रेस नेतृ आरजु राणासँग ठगी केसमा जोडिएका सन्देश शर्माको अडियो प्रहरीले सिंगापुर पठाएर परीक्षण गराएको थियो।









