काठमाडौं। महाधिवेशनको अन्तिम समयमा संस्थापन समूहमा पुगेका रामहरि खतिवडा सहमहामन्त्रीमा निर्वाचित भएका छन्। खुलातर्फ २ सहमहामन्त्रीको कोटमा रामहरि सबैभन्दा धेरै मत पाएर निर्वाचित भएका हुन्।
रामहरि असोज १ गते मीनबहादुर विश्वकर्मा लगायत नेतासहित केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए। त्यसअघि रामहरि पूर्वसभापति शेरबहादुर देउवा पक्षमा सक्रिय थिए।
खुलातर्फ रामहरिसँगै अजयबाबु शिवाकोटी सहमहामन्त्रीमा निर्वाचित भएका छन्। मत परिणाम भने औपचारिकरुपमा सार्वजनिक गरिएको छैन।
विशेष महाधिवेशनमा सक्रिय रहेका डिल्लीराम सुवेदी भने पराजित भएका छन्। विशेष महाधिवेशनमै सक्रिय बनेका रमेश धमलाले कम मतमा चित्त बुझाए। यो समूहमा देवेन्द्रराज कँडेल, राजीव ढुंगाना, विकास कोइराला, अमृत अर्याल र विमलराज क्षत्री पनि प्रतिस्पर्धामा थिए।
यता पिछडिएको क्षेत्र क्लस्टरतर्फबाट जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित भएका छन्। शाही पनि देउवा गुट छोडेर संस्थापनमा पसेका नेता हुन्। यो समूहमा चलचित्र निर्देशक मिन भामले उम्मेदवारी फिर्ता लिएकाले शाहीलाई जित निकाल्न सहज भएको हो।
संस्थापनइतरबाट आफ्नो पक्षमा आएका नेताहरूलाई व्यवस्थापन गर्न गगन थापा र विश्वप्रकाश शर्माले पदाधिकारी १४ बाट बढाएर २५ पुर्याएका थिए।









