काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले मापदण्डविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई ५० हजार रुपैयाँका दरले जरिवाना गरेको छ।
तोकिएभन्दा बढी शुल्क लिएको, स्वीकृत प्याकेजभन्दा फरक प्याकेज बनाएर बिक्री गरेको तथा सेवाग्राहीलाई तोकिएको समयमा जानकारी नदिएको पाइएको भन्दै प्राधिकरणले विभिन्न १४ वटा सेवा प्रदायकलाई कारबाही गरेको हो।
कारबाहीमा पर्ने सेवा प्रदायकमा ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन, क्लासिक टेक, वेब सर्फर, फाइबरवर्ल्ड, भायानेट, एरोनेट, डिस मिडिया नेटवर्क, वाइफाइ नेपाल, सिजी कम्युनिकेसन, वर्ल्डलिंक, फर्स्ट लिंक कम्युनिकेसन, पोखरा इन्टरनेट, टेकमाइन्ड्स नेटवर्क र सुबिसु छन्।

प्राधिकरणका अनुसार सेवा प्रदायकले शुल्क निर्धारणसम्बन्धी निर्देशिकाबमोजिम प्रस्तावित दर र लागू हुने मितिसमेत उल्लेख गरी कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि पेस गर्नुपर्ने व्यवस्था छ। तर, केही सेवा प्रदायकले यो व्यवस्था पालना नगरेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले स्वीकृति नलिई सञ्चालन गरिएका इन्टरनेट सेवा प्याकेज तत्काल बन्द गरी त्यसबारे जानकारी गराउन सम्बन्धित सेवा प्रदायकलाई निर्देशन दिएको छ। प्राधिकरणले त्यस्ता गतिविधिका कारण कुनै ग्राहकलाई हानि नोक्सानी भएको भए ग्राहकको मागका आधारमा क्षतिपूर्ति वा हानि नोक्सानीको बिगो भराउन भनेको छ।
प्राधिकरणले अनुमतिपत्र प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकलाई कुनै पनि सेवा प्याकेज वा महसुल दर लागू गर्नुअघि अनिवार्य रूपमा स्वीकृति लिन र स्वीकृतिबिना कुनै पनि प्याकेज सञ्चालन नगर्न सचेत गराएको छ।
प्राधिकरणले सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको स्पष्ट पारेको छ।








