काठमाडौं। बूढीगण्डकी नदीमा आएको बाढीका कारण विभिन्न ४ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ।
बाढीले ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना, २४.५ मेगावाट क्षमताको दोभान खोला हाइड्रोपावर, ३०.५९ मेगावाटको यारु खोला जलविद्युत आयोजना र १६ मेगावाटको माछा खोला जलविद्युत आयोजनामा क्षति पुगेको हो।
बूढीगण्डकी जलविद्युतको क्याम्प, पहुँच मार्ग, बेलीब्रिज र निर्माण उपकरण बाढीले बगाएको प्रवर्धक कम्पनी टाइम्स इनर्जी प्रालिले जनाएको छ।
दोभान खोला हाइड्रोपावर क्याम्पका केही भवनमा क्षति पुगेको छ भने बेलीब्रिज बाढीले पूर्णरूपमा बगाएको छ।
यारु हाइड्रो पावर प्रालिले निर्माण गरेको यारु खोला जलविद्युत आयोजनाको बेलीब्रिजमा पनि क्षति पुग्नुका साथै निर्माण सामग्री तथा उपकरण बाढीले बगाएको छ।
वाटर इनर्जी डेभलपमेन्टले निर्माण गरिरहेको माछा खोला जलविद्युत आयोजनाको पहुँच सडक र आयोजना स्थल जोड्ने पुलमा बाढीले क्षति पुगेको छ।









