काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुलाई महानगरपालिकाभित्रका शाखा समायोजन/एकीकरण गर्न राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ।
राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै महानगरपालिकाभित्रका शाखा बैंक तथा वित्तीय संस्थाहरुले स्वयं समायोजन/एकीकरण गर्न सक्ने उल्लेख गरेको हो।
विद्युतीय भुक्तानी कारोबार बढिरहेको र महानगरमा शाखा संख्या उल्लेख्य रहेको भन्दै राष्ट्र बैंक लचिलो भएको हो। तर, उपमहानगर र नगरपालिकाभित्रका शाखा बन्द गर्न भने बैंक तथा वित्तीय संस्थाले केही सर्त पूरा गर्नुपर्ने छ।
बैंक तथा वित्तीय संस्थाले उपमहानगर र नगरपालिकाका शहरी तथा शहरोन्मुख क्षेत्रमा रहेका शाखा समायोजन/एकीकरण गर्न सक्नेछन्।
तर, शाखा समायोजन/एकीकरण गर्दा एक किलोमिटरको दूरीभित्र सञ्चालनमा रहेको शाखामध्ये कम्तीमा कुनै एक शाखा कायम गर्नुपर्नेछ।
समायोजन गरी प्रत्येक चार वटा शाखा बन्द गरेपश्चात् बैंक तथा वित्तीय संस्थाले शाखा नरहेको ग्रामिण क्षेत्रको वडामा एउटा नयाँ शाखा खोल्नुपर्ने छ।
समायोजन हुने शाखाका ग्राहकले कर्जा चुक्ता गर्न चाहेमा वा अन्य सेवा बन्द गर्न चाहेमा कुनै पनि प्रकारका शुल्क लिन नपाउने राष्ट्र बैंकले जनाएको छ। यस्तै शाखा समायोजन भएका कारण कर्मचारीलाई हटाउन पाइने छैन। उनीहरुलाई नजिकको शाखा वा सहमतिका आधारमा सरुवा गर्नु पर्नेछ।
राष्ट्र बैंकको पूर्वस्वीकृतिबिना बैंक तथा वित्तीय संस्थाले गाँउपालिका तथा ग्रामिण क्षेत्रका शाखा बन्द वा स्थानान्तरण वा गाभ्न पाउने छैनन्।








