काठमाडौं। नेपालमा वस्तुभन्दा सेवा निर्यात बलियो बन्दै गएको पाइएको छ।
एसियाली विकास बैंक (एडीबी)ले साउथ एसियन वाच अन ट्रेड इकोनमकिक्स एण्ड इन्भाइरोमेन्ट (साउती)सँग मिलेर गरेको अध्ययनले सन् २०१३ पछि नेपालमा सेवाले वस्तु निर्यातलाई पछि पारेको उल्लेख छ।
सन् २०२४ मा नेपालको वस्तु निर्यात कुल गार्हस्थ उत्पादन (जीडीपी)को ३.२ प्रतिशतमा सीमित रह्यो। जबकि त्यही अवधिमा सेवा निर्यात जीडीपीको ४.४ प्रतिशत थियो।
नेपालको सेवा निर्यातमा परम्परागत रूपमा पर्यटन एक प्रमुख योगदानकर्ता रहँदै आएकामा पछिल्ला वर्षहरूमा सूचना प्रविधि (आइटी) सेवा पनि बलियो सम्भावनाको रुपमा देखिएको छ।
सन् २०१५ देखि उकालो लागेको आइटीलगायत सेवा क्षेत्रको निर्यात कोरोना महामारीका कारण सन् २०१९ र २०२० मा भने घटेको थियो। २०२१ देखि भने पुन: बढ्दै गएको एडीबीको अध्ययनमा उल्लेख छ।
अध्ययन प्रतिवेदनले सूचना प्रविधि र यससँग सम्बन्धित क्षेत्रलाई नेपालको लागि उच्च सम्भावना भएको क्षेत्र मानेको छ। विशेषगरी कम लागतमा दक्ष जनशक्ति उपलब्ध हुने, विदेशमा रहेका नेपालीसँगको सम्बन्धले विदेशी बजार र ग्राहकसम्म पहुँच बनाउन सहयोग गर्नेलगायत कारणले आइटी निर्यात बलियो भन्दै गइरहेको उल्लेख छ।
सफ्टवेयर विकास, आउटसोर्सिङ, डिजिटल सर्भिस, मल्टिमिडिया र तथ्यांकसँग सम्बन्धित कामबाट विदेशी मुद्रा आर्जन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ।
व्यवसायीका समस्या के-के?
पछिल्लो ५ वर्षमा नेपालको वस्तु निर्यात व्यापारको ७२ प्रतिशत हिस्सा भारतमा निर्भर छ। त्यसपछि अमेरिकामा ९.५ प्रतिशत, युरोपेली बजारमा ६.२, बेलायतमा १.५ र चीनमा १.२ प्रतिशत रहेको अध्ययनमा उल्लेख छ।
वनस्पति तेल, खनिज तथा धातु, कृषि उत्पादन, चिया, कफी, मसला र तयारी पोशाक सबैभन्दा धेरै निर्यात हुने प्रमुख वस्तुमा छन्।
५० वटा निर्यात व्यावसायिक फर्मको अध्ययन गर्दा व्यवसायीहरूले बैंकिङ पहुँच, बिजुलीको गुणस्तर, आयातित कच्चा पदार्थमा उच्च कर, ढुवानी तथा लजिस्टिक्सको उच्च लागत लगायतलाई मुख्य समस्याको रुपमा औंल्याएका छन्।
उनीहरुले औद्योगिक जग्गा र दक्ष जनशक्तिको अभाव, व्यापार पूर्वाधार कमजोर, भन्सार प्रशासनमा समस्या, अन्तर्राष्ट्रिय गुणस्तर तथा मापदण्ड पूरा गर्न कठिनाइ हुने गरेको उल्लेख गरेका छन्। यसमध्ये ८३ प्रतिशत फर्मले बैंकिङ पहुँचलाई समस्या भनेका छन्।
ठूलो धितोको माग, प्रक्रियागत तथा कागजी झन्झट र ब्याजदरको अनिश्चितताले बैंकिङ पहुँचमा समस्या ल्याएको व्यवसायीहरूले बताएका छन्।
अध्ययनमा सहभागी ५२.६ प्रतिशत व्यावसायिक फर्मले गुणस्तरीय बिजुलीको अभावलाई ठूलो समस्या भनेका छन्।
उच्च एयर फ्रेट, लामो ट्रान्जिट समय, भारतीय बन्दरगाहमा सीमित पहुँच, भण्डारण सुविधा कमजोर र भन्सारका पूर्वाधार कमजोर हुँदा नेपाली उत्पादन महंगो हुने गरेको एडीबीको अध्ययनमा उल्लेख छ। यसले नेपाली उत्पादनलाई विश्व बजारमा कमजोर प्रतिस्पर्धी बनाएको भनिएको छ।









