काठमाडौं। एकपछि अर्को ठूलोसँगै सरकारले सडक र पुलको डिजाइनमा परिवर्तन गर्ने गृहकार्य सुरु गरेको छ।
भदौ १० गते रसुवाको भोटेकोशी र असोज ८-११ गते कालीगण्डकीमा आएको बाढीले सडक तथा पुल पूर्वाधारमा ठूलो क्षति भएपछि पूर्वाधार विकास मन्त्रालयले छुट्टै इकाइ खडा गर्नेदेखि डिजाइन कोड परिवर्तनको तयारी गरेको हो।
पूर्वाधार विकास मन्त्रालयका सहसचिव भीमार्जुन अधिकारीले जलवायु परिवर्तनका कारण बाढी पहिरोले कल्पनै नगरेको क्षति हुन थालेका कारण विपद् केन्द्रित मर्मत सम्भार तथा विपद् उत्थानशील इकाइ खडा गर्ने गृहकार्य अघि बढाएको बताए।
‘४/५ वर्षको अवधिमा ठूला विपद्पछि हामीले अब डिजाइन कोड नै पुनरवलोकन गर्न जरूरी छ,’ नेपाल पूर्वाधार पत्रकार समाजले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा अधिकारीले भने, ‘अहिले बाढीमा पानी मात्रै बग्दैन, लेदोसहितको ठूलो ग्रेगान पनि बगेर ठूलो क्षति भइरहेको छ। माथिल्लो तटीय क्षेत्रमा बढी क्षति र तत्लो तटीय क्षेत्रमा कम असर गरेको देखिन्छ। अब डिजाइन कोड परिवर्तन गरी माथिल्लो भेगमा सोही किसिमका सडक र पुलको डिजाइन बनाउन आवश्यक छ। अबको पूर्वाधार निर्माण जलवायु उत्थानशील हुनुपर्नेमा दुईमत छैन।’
देशभर हाल १ लाख किलोमिटर सडक बनेकामा ६५ हजार किलोमिटर कालोपत्रे गर्न बाँकी छ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीले हालको बाढीपहिरोले पूर्वाधार निर्माणको डिजाइनदेखि प्रक्रियाका सम्बन्धमा पुनर्विचार गर्न सरकारलाई झक्झकाएको बताए।
‘अब अग्ला र लामा पुल बनाउन आवश्यक देखियो। तर, त्यसरी बनाउँदा महँगो पर्छ। सडक तथा पुलको डिजाइन परिवर्तन गर्नका लागि परामर्शदातासँग मिलेर काम गरिरहेका छौं,’ जैसीले भने, ‘साथै अब हामीलाई विपद् सम्बन्धी विज्ञ इन्जिनियरको पनि आवश्यकता भएको छ। सोही किसिमको दरबन्दीका लागि पूर्वाधार विकास मन्त्रालयमा छलफल गरिरहेका छौं।’
उनका अनुसार भोटेकोशी बाढीले सडक र पुलमा २१ अर्ब ५० करोड रुपैयाँको क्षति भएको छ।
राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाले बाढीले पुर्याएको क्षतिका कारण नुवाकोट-रसुवामा अब जियोक्निकल र हाइड्रोलोजिष्टबाट अध्ययन गराएर केही माथिबाट सडक बनाउनुपर्ने बताए।
‘अहिले सडक किनारको विकल्पमा जान सकिंदैन किनभने त्यहाँ दर्जनौं जलविद्युत् आयोजनालाई जोड्नुपर्नेछ। आम आवतजावत पनि सहज बनाउनुपर्ने छ। जियोक्निकल र हाइड्रोलोजिष्टबाट अध्ययन गराएर केही माथिबाट सडक बनाउन सकिन्छ,’ उनले भने।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्तले नेपालका अधिकांश सडकमा बायो-इन्जिनिरयरिङ नभएको भन्दै अब विपद्लाई थेग्ने खालको डिजाइनको आवश्यकतामा जोड दिए।
नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले भोटेकोशी विपद्ले सरकार, स्थानीय तह, स्थानीयवासी, इन्जिनियर्स लगायत सबैलाई पाठ सिकाएको बताए।
नेपाल जियोटेक्निकल सोसाइटीका निवर्तमान अध्यक्ष डा. मन्दीप सुवेदीले सडकको प्राथमिकिकरण गर्नुपर्नेमा जोड दिए।











