‘प्रि-कोप लिडर्स इभेन्ट’मा सहभागी हुन फिजी पुगे परराष्ट्रमन्त्री खनाल, अस्ट्रेलियाको पनि भ्रमण गर्ने

बिजमाण्डू
२०८३ असोज १९ गते ०७:५० | Oct 5, 2026
‘प्रि-कोप लिडर्स इभेन्ट’मा सहभागी हुन फिजी पुगे परराष्ट्रमन्त्री खनाल, अस्ट्रेलियाको पनि भ्रमण गर्ने


काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि-कोप लिडर्स इभेन्ट’मा सहभागी हुन फिजी पुगेका छन्। मन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल फिजीको नादि अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएको हो।

Vigo
GBIME
Tata

फिजी र टुभालुमा अक्टोबर ५ र ६ मा आयोजना हुने कार्यक्रममा मन्त्री खनाल सहभागी हुनेछन्। उनले अक्टोबर ६ देखि सुरु हुने नेताहरूको पूर्ण सत्र ‘लिडर्स प्लेनरी’ मा सम्बोधन गर्ने कार्यक्रम छ।

लिडर्स प्लेनरीअघि मन्त्री खनाल पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग संयुक्त रूपमा आयोजना हुने सञ्चारकर्मीको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनेछन्। उक्त कार्यक्रममा जलवायु परिवर्तन र विश्वव्यापी सहकार्यका विषयमा छलफल हुने जनाइएको छ।

प्रि-कोप लिडर्स इभेन्ट जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी संवाद र सहकार्यलाई अघि बढाउने उद्देश्यले आयोजना हुँदैछ। कार्यक्रममा नेपालको सहभागिताले जलवायु परिवर्तनका असर, जलवायु न्याय र हिमाली राष्ट्रका सरोकार अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसर दिने अपेक्षा गरिएको छ।

फिजी र टुभालुको कार्यक्रम सकेपछि मन्त्री खनाल अस्ट्रेलिया जानेछन्। उनले अक्टोबर ८ मा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

भेटवार्तामा नेपाल-अस्ट्रेलिया सम्बन्ध र द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। त्यस क्रममा आपसी हितसँग सम्बन्धित विभिन्न विषयमा पनि कुराकानी हुने जनाइएको छ।

अस्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागिता जनाउनेछन्। उनले सिड्नीमा नेपाली डायस्पोराले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी भएर नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन्।

परराष्ट्रमन्त्री खनाल अक्टोबर १२ मा नेपाल फर्कने कार्यक्रम छ।