काठमाडौं। भारतीय फुटबल टोली ब्राजिलसँग पराजित भएको छ। कोलकाताको साल्ट लेक स्टेडियममा सम्पन्न खेलमा भारत पाँच पटकको विश्वकप विजेता ब्राजिलसँग ४–० गोलले पराजित भएको हो।
मैत्रीपूर्ण खेलमा ब्राजिलले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। एस्टेभाओ विलियमले २८औँ मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए। त्यसपछि पेड्रोले ४२औँ मिनेटमा गोल थपेपछि ब्राजिल पहिलो हाफमा २–० ले अघि रह्यो।
दोस्रो हाफमा पनि ब्राजिलले आफ्नो आक्रामक खेललाई निरन्तरता दियो। भारतले गोल फर्काउन नसक्दा ब्राजिलले खेल ४–० ले आफ्नो पक्षमा पार्यो। दोस्रो हाफ र इन्ज्युरी समयमा साम्युएल लिनोले गोल गर्दै ब्राजिललाई फराकिलो जित निकाले।
यो खेल भारत र ब्राजिलका पुरुष राष्ट्रिय फुटबल टोलीबीचको पहिलो सिनियर अन्तर्राष्ट्रिय भिडन्त थियो। विश्व फुटबलमा पाँच पटकको विश्वकप विजेता ब्राजिल र भारतीय टोलीबीचको यो खेललाई भारतीय फुटबलका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको थियो।
खेलअघि सार्वजनिक फिफा वरीयतामा ब्राजिल छैटौं र भारत १३८औँ स्थानमा छन्।
भारतले अब अक्टोबर ६ मा कोलकातामै अर्को विश्वकप विजेता अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ। यसअघि भारतले अर्को विश्वकप खेल्ने बलियो टोली पानामालाई १-१ गोलको बराबरीमा रोकेको थियो।
भारतले फुटबलमा प्रभावशाली टोलीसँग खेलिरहँदा नेपालले भारतसँग खेल्ने नै अवसर गुमाउँदै छ। नेपालका लागि सबैभन्दा ठूलो लक्ष्य साफ मानिन्छ। फिफाका प्रतिबन्धका कारण नेपालले यसपाला पहिलो पटक साफ च्याम्पियनसिप खेल्ने छैन।











