सोह्र श्राद्धका कारण घट्यो कुखुराको मासुको भाउ, उपभोक्ता मूल्य प्रति किलो ४०० रुपैयाँ

बिजमाण्डू
२०८३ असोज १६ गते १३:१४ | Oct 2, 2026
सोह्र श्राद्धका कारण घट्यो कुखुराको मासुको भाउ, उपभोक्ता मूल्य प्रति किलो ४०० रुपैयाँ


काठमाडौं। सोह्र श्राद्ध सुरु भएसँगै खपत घटेपछि कुखुराको मासु सस्तिएको छ। यसअघि उत्पादन कम हुँदा मासुको मूल्य लगातार बढिरहेको थियो।

Vigo
GBIME
Tata

खपत घट्न थालेपछि राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले शुक्रबारदेखि लागू हुने गरी मासुको मूल्य घटाएको हो।

संघका अनुसार जिउँदो कुखुराको मूल्य किलोमा १० रुपैयाँले घटेर प्रति किलो २९० रुपैयाँ तय भएको छ। तयारी मासुको मूल्य किलोमा १५ रुपैयाँ घटेर प्रति किलो ४०० रुपैयाँमा आइपुगेको छ।

यसअघि जिउँदो कुखुराको मूल्य प्रति किलो ३०० र तयारी मासुको मूल्य प्रति किलो ४१५ रुपैयाँ थियो।

सोह्र श्राद्धका कारण करिब ३० प्रतिशत खपतमा गिरावट आएसँगै मूल्य घट्न थालेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बिसीले बताए।

‘बजारमा ७० प्रतिशत खपत छ। देशभर दैनिक ६ लाख मासुको खपत भइरहेको थियो। उपत्यकामा मात्र साढे तीन लाख किलो मासु खपत हुने गरेको थियो। अहिले करिब ३० प्रतिशत कम भएको छ,’ उनले भने।

हरेक वर्ष सोह्र श्राद्धमा मासुको खपत कम हुँदा भाउ घट्ने गरेको छ। अहिले कुखुराको उत्पादन पर्याप्त मात्रामा भएको नभई बजारमा खपत घट्दा मागभन्दा उत्पादन बढी देखिएको अध्यक्ष बिसीले बताए।