काठमाडौं। निर्माणाधीन १२ वटा प्रसारण लाइन आयोजनाका प्रमुखले ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसामु वन मन्त्रालय र सडक विभागबाट सहयोग नपाएको गुनासो गरेका छन्।
ती आयोजनाका प्रमुखले बिहीबार ऊर्जा मन्त्रालयमा पुगेर प्रसारण लाइन विस्तार गर्दा वन विभागबाट रुख काट्न अवरोध भएको र सडक विभागबाट पोल तथा टावर सार्न पर्याप्त समय नपाएको ब्रिफिङ गरेका छन्।
मन्त्रीसामु तुम्लिङटार-सितलपाटी २२० केभी, ढल्केबर-बाणगंगा १३२ केभी, कोहलपुर-सुर्खेत-दैलेख १३२ केभी, नेपालगन्ज-नानपारा १३२ केभी, लालबन्दी-सलिमपुर १३२ केभी, इनरुवा-विराटनगर १३२ केभी, हेटौंडा-ढल्केबर ४ सय केभी र कालिगण्डकी-रिडी १३२ केभीका आयोजना प्रमुखले कार्य प्रगति प्रस्तुत गरेका थिए।
विद्युत प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख नवराज ओझाका अनुसार १२ वटै आयोजनाका प्रमुखले अवरोधका बाबजुद् निर्माण कार्य यसै वर्षभित्र सम्पन्न हुने जानकारी दिएका छन्
इनरुवा-विराटनगर प्रसारण लाइनमा म्याद थप गर्दा पनि ठेकेदारले काम नगरेपछि पेटी ठेकेदारलाई सम्पूर्ण भुक्तानी गरी तीन महिनाभित्र काम सम्पन्न गर्नेगरी समन्वय भएको छ।
हेटौंडा-ढल्केबर ४०० केभी आयोजना वनको समस्या समाधान भएकाले आगामी कात्तिकसम्म सम्पन्न हुने जानकारी गराइएको छ।
मन्त्री श्रेष्ठले आयोजना प्रमुखहरुलाई अन्तर मन्त्रालयअन्तर्गत समस्या तत्काल समन्वय गरी समाधान गर्ने आश्वासन दिएका छन्।











