काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे नेपाल दूरसञ्चार प्राधिकरणसँग जानकारी मागेका छन्।
सञ्चारमन्त्री डा तिमिल्सिनाले बिहीबार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे लगायतलाई मन्त्रालयमा बोलाएर टेलिफोन र इन्टरनेट सेवाको गुणस्तर कमजोर भएको बारे उपभोक्ताको गुनासो नघटेको भन्दै सेवाको अवस्था, गुणस्तर परीक्षण, नियमन तथा सेवा विस्तारका विषयमा जानकारी मागेका हुन्।
‘दूरसञ्चार सेवाको पहुँच र गुणस्तर कमजोर भयो भन्ने गुनासो अझै हट्न सकेको छैन। त्यसमा जसरी पनि सुधार गर्नै पर्नेछ। नागरिकका आकांक्षा पूरा गर्ने गरी काम गर्नुको विकल्प छैन,’ तिमिल्सिनालाई उद्यर्त गर्दै उनको सचिवालयले भनेको छ।
मन्त्रीले न्यून गुणस्तरको सेवा दिने तथा तोकिएको मापदण्ड पूरा नगर्ने सेवा प्रदायकमाथि कानुनबमोजिम कडा कारबाही गर्न र गुणस्तर अनुगमनसम्बन्धी नियमित प्रतिवेदन मन्त्रालयमा पेस गर्न निर्देशन दिएका छन्।
‘टेलिफोन सेवाको गुणस्तर कस्तो छ भनेर प्राधिकरणबाट नियमित अनुगमन निरीक्षण भएको देखिएन। तपाइँहरुले आफ्नो नियामकीय दायित्व पूरा गरेर गुणस्तरका सवालमा निर्मम भएर कारबाही गर्नुहोस्,’ मन्त्री तिमिल्सिनाले भने।
मन्त्रीले फोरजी सेवा विस्तार तथा फाइभजी सेवा सुरु गर्ने विषयमा पनि प्राधिकरणलाई स्पष्ट कार्ययोजना बनाएर काम गर्न भनेका छन्।
प्राधिकरणले दूरसञ्चार सेवा गुणस्तरसम्बन्धी मापदण्ड जारी गरिसकेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन गर्न नसकेको स्वीकार गरेको छ।
प्राधिकरणका पदाधिकारीले गुणस्तर परीक्षणका लागि आवश्यक सवारीसाधन तथा ड्राइभ टेस्टका उपकरण पर्याप्त नरहेको तथा उपकरण खरिदका प्रक्रिया विगतमा कानुनी विवादमा परेका कारण समस्या परेको जानकारी गराए।
उनीहरुले दूरसञ्चार सेवामा आवश्यक फ्रिक्वेन्सी पर्याप्त रूपमा उपलब्ध गराउन सके गुणस्तरमा सुधार ल्याउन सहयोग पुग्ने बताए। सेवाको माग बढ्दै गए पनि पूर्वाधार र नेटवर्क क्षमतामा सोही अनुसार लगानी हुन नसक्दा केही क्षेत्रमा गुणस्तरको समस्या देखिएको उनीहरुको भनाइ थियो।











