ओडीआईमा रन वर्षा : गिलले अविजित २२३ रन बनाउँदा भारतले पछ्यायो ४०६ रनको लक्ष्य

बिजमाण्डू
२०८३ असोज १५ गते ०५:३३ | Oct 1, 2026
ओडीआईमा रन वर्षा : गिलले अविजित २२३ रन बनाउँदा भारतले पछ्यायो ४०६ रनको लक्ष्य
भारतीय कप्तान शुभमन गिल। Photo: Indian Cricket Team


काठमाडौं। भारतले  वेस्ट इण्डिजले दिएको ४०६ रनको विशाल लक्ष्य पछ्याएको छ। भारतको गुवाहटीमा जारी ओडीआई सिरिजको दोस्रो खेलमा वेस्ट इण्डिजले तीन शतकको सहायतामा दिएको ४०६ रनको विशाल लक्ष्य भारतले शुभमन गिलको दोहोरो शतक र रोहित शर्माको शतकको सहायतमा भेट्टाएको हो। यो ओडीआईको इतिहासमै दोस्रो ठूलो रन चेज हो। सबैभन्दा ठूलो चेजचाहीँ दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध ४३८ रन पछ्याएको छ।

Vigo
GBIME
Tata

एउटा दोहोरो शतक र चारवटा शतक प्रहार भएको खेलमा भारतले टस जितेर वेस्ट इण्डिजलाई पहिला ब्याटिङको निम्ता दिएको थियो। वेस्ट इण्डिजले जोन क्याम्पबेल, कप्तान साइ होप र अमिर जान्गोको शतकको सहायतामा ७ विकेट गुमाएर ४०५ रन बनायो। जान्गोले सर्वाधिक ११४ रन बनाउँदा होपले १०४ तथा क्याम्पबेलले १०१ रन बनाए।

बलिङमा भारतका गुरनूर ब्रर, रवीन्द्र जडेजा र कुलदीप यादवले समान २ विकेट लिँदा प्रसिद कृष्णाले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको भारतले २ विकेट गुमाएर ४३.३ ओभरमै लक्ष्य भेट्टायो। भारतका लागि कप्तान शुभमन गिलले दोहोरो शतक प्रहार गरे। उनले १३३ बलमा २६ चौका तथा ८ छक्का प्रहार गर्दै २२३ रनमा अविजित रहे। ११७ बलमै २०० रन पुर्‍याएका उनी सबैभन्दा छिटो दोहोरो शतक बनाउने कीर्तिमान बनाउन सफल भएका छन्। त्यस्तै, ओपनर रोहित शर्माले ७५ बलमा १०१ रन बनाउँदा ऋतुराज गाइक्वाडले अविजित ३१ रन बनाए। ३९ वर्षको उमेरमा शतक बनाएका रोहित ओडीआईमा शतक बनाउने भारतका सबैभन्दा पाका खेलाडी बनेका छन्।

योसँगै तीन खेलको ओडीआई सिरिज भारतले एक खेल अगावै जितेको छ।