काठमाडौं। कुलेखानी जलाशयको जलसतह नियन्त्रणमा आएसँगै बाँधका मुख्य गेटहरू खोल्नुपर्ने जोखिम टरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार मौसममा आएको सुधार र जलसतहको न्यून वृद्धिदरका कारण जलाशयको बाँधका मुख्य गेटहरु खोल्नुपर्ने जोखिम हटेको हो।
मौसम विज्ञान विभागले गत बुधबारदेखि आइतबारसम्म अत्यधिक वर्षा हुने प्रक्षेपण गरेको थियो। त्यस आधारमा जलाशयको जलसतह उच्चतम बिन्दुमा पुग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै विभिन्न चरणमा प्राधिकरणले पूर्वतयारी गरेको थियो।
बाँधको सुरक्षा र जलसतहको सन्तुलन कायम राख्न गेटहरू खोल्नुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्ने भएकाले तल्लो तटीय क्षेत्र (सिस्नेरी खोला र बागमती नदी किनार) मा पानीको बहाव आकस्मिक रूपमा बढ्ने जोखिमलाई मध्यनजर गर्दै गत आइतबार ‘एसएमएस अलर्ट’ र सूचना जारी गरिएको थियो।
अहिले कुलेखानीको जलस्तर तुलनात्मक रूपमा उल्लेख्य भए पनि वर्षा थामिएकाले बढ्ने सम्भावना घटेको प्राधिकरणका अधिकारीहरु बताउँछन्। बुधबार बिहान ९ बजेको मापनअनुसार कुलेखानी जलाशयमा जलसतह १५२७.१२ मिटर छ। जलाशयको पूर्ण भण्डारण क्षमता १५३० मिटर हो।
मौसममा सुधार आएको र जलसतह बढ्ने क्रम निकै धीमा रहेकाले हाल बाँधका गेटहरू खोल्नुपर्ने अवस्था नरहेको प्राधिकरणले जनाएको छ।











