सुरक्षा थ्रेटपछि राणालाई रेस्क्यु गरिएको सरकारको दाबी, ‘अपरिचित समूहले टेक्स्ट गरेको थियो’

बिजमाण्डू
२०८३ असोज १३ गते १७:३७ | Sep 29, 2026
सुरक्षा थ्रेटपछि राणालाई रेस्क्यु गरिएको सरकारको दाबी, ‘अपरिचित समूहले टेक्स्ट गरेको थियो’


काठमाडौं। सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई सुरक्षा थ्रेट आएपछि रेस्क्यु गरिएको दाबी गरेको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दा पत्रकारले सोधेको प्रश्नमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सो दाबी गरेका हुन्।

Vigo
GBIME
Tata

‘उहाँलाई पक्राउ गरिएको होइन भन्ने स्पस्ट भइसकेको छ। नियन्त्रणमा लिएको पनि होइन,’ सस्मितले भने, ‘उहाँको सुरक्षामा प्रश्न आइसकेपछि सुरक्षा प्रदान गर्नका लागि त्यहाँ(घर)बाट रेस्क्यु गरेर लगिएको हो।’

उनले राणालाई नियन्त्रणमा नलिएको विषय परिवारले सुरक्षा माग गर्दै प्रहरी कार्यालयमा दिएको निवेदनले स्पस्ट भएको बताए।

‘उहाँको परिवारबाट थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु भएको छ। त्यो पत्रले पनि उहाँहरुले सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ, त्यसले पनि देखाउँछ,’ पोखरेलले भने।

उनले पत्र पठाउनुअघि नै राणाको मोबाइलमा थ्रेटसहितको टेक्स्ट आएको जिकिर गरे। ‘पत्र आउनुभन्दा अघि नै उहाँलाई थ्रेटहरु आएका थिए। थ्रेट आइसकेपछि सुरक्षित स्थानमा लगियो,’ उनले भने, ‘त्यसपछि उहाँको परिवारले थप सुरक्षा माग गर्दै निवेदन दिनुभएको हो।’

पोखरेलले जेनजी समूहबाट थ्रेट आएको अस्वीकार गर्दै अपरिचित समूहबाट भन्ने नयाँ सूचना दिए। ‘सरकार, प्रहरी कसैले पनि जेनजी समूहबाट भनेको छैन। त्यो मिडियामा आएको कुरा हो। जेनजीबाट त्यस्तो थ्रेट आएको होइन,’ उनले भने, ‘अपरिचित समूहबाट आएको भन्नेछ।’

अपरिचित समूहका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको पोखरेलले बताए।