काठमाडौं। सरकारले सुनचाँदीका गरगहना र वस्तु बिक्रीमा सीप प्रवर्धन शुल्क लगाउन थालेको अढाइ महिनापछि बल्ल कार्यविधि जारी गरेको छ।
आन्तरिक राजस्व विभागले ‘सीप प्रवर्धन शुल्कसम्बन्धी कार्यविधि’ मंगलबार आफ्नो वेबसाइटमा राखेको छ। कार्यविधि अनुसार नेपालमा उपभोगका लागि बिक्री हुने सुन वा सुनका गरगहना तथा वस्तु र चाँदी वा चाँदीका गरगहना तथा वस्तुको अन्तिम उपभोक्तालाई बिक्री गर्दाको बिक्री मूल्यमा ०.५ प्रतिशत सीप प्रवर्धन शुल्क लाग्नेछ।
यस्तो शुल्क वस्तु बिक्री गर्दाकै समयमा असुल गर्नुपर्नेछ। कार्यविधिमा बिजक जारी गर्नेदेखि कारोबारको लेखाङ्कन र मासिक विवरण पेस गर्नेसम्मका व्यवस्था छ।
सीप प्रवर्धन शुल्क लाग्ने कारोबार गर्ने व्यवसायीले तोकिएको ढाँचामा बिजक जारी गर्नुपर्नेछ। कारोबारको लेखाङ्कन प्रोद्भावी (एक्रुयल) आधारमा गर्नुपर्ने तथा प्रत्येक महिना कारोबार भए वा नभए पनि अर्को महिनाको २५ गतेभित्र सम्बन्धित राजस्व कार्यालयमा मासिक विवरण पेस गर्नुपर्नेछ।

तोकिएको समयभित्र विवरण पेस नगरेमा लाग्ने सीप प्रवर्धन शुल्कको प्रति दिन ०.०५ प्रतिशत वा प्रति विवरण १ हजारमध्ये जुन बढी हुन्छ, सोहीबराबरको थप शुल्क लाग्ने व्यवस्था गरिएको छ।
आर्थिक ऐन, २०८३ को दफा १४ मा नेपालमा उपभोक्तालाई सुन, चाँदी तथा तिनका गरगहना र वस्तु बिक्री गर्दा बिक्री मूल्यमा सीप प्रवर्धन शुल्क लगाई असुल गर्ने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार विभागले शुल्कको प्रशासन, असुली, दाखिला, कारोबारको लेखाङ्कन, विवरण पेस, परीक्षण तथा पुनरावेदनसम्बन्धी व्यवस्था समेटेर कार्यविधि जारी गरेको हो।
व्यवसायीले आफ्नो पसलबाट गरगहना निर्माणका लागि कालीगढकोमा तथा कालीगढबाट व्यवसाय सञ्चालन भएको स्थानमा सुन, चाँदी तथा सुनचाँदीका गरगहना वा वस्तु ओसारपसार गर्दा सम्बन्धित कार्यालयको छाप लागेको तोकिएको ढाँचाको चलान साथमा राख्नुपर्नेछ। त्यस्तो गरगहना निर्माण गर्ने कालीगढले अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ।

ग्राहकबाट पुरानो गरगहना खरिद गरी सोही ग्राहकलाई पुरानो गरगहनाको तौल बराबरको मूल्यसम्म नयाँ गरगहना बिक्री गर्दा सीप प्रवर्धन शुल्क लाग्ने छैन। तर पुरानो तौलमा थप गरी नयाँ गरगहना बिक्री गरेमा थप गरिएको सुन वा चाँदीको मूल्य तथा सम्पूर्ण ज्याला जर्तीमा सीप प्रवर्धन शुल्क लाग्नेछ।
सर्वसाधारणले व्यवसायीलाई सुनचाँदीका गरगहना बिक्री गर्दा आफ्नो परिचय खुल्ने नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, स्थायी लेखा नम्बर प्रमाणपत्र वा सरकारबाट जारी अन्य परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। त्यसरी बिक्री गर्ने सुनचाँदी वा गरगहना आफूले खरिद गरेको प्रमाणसमेत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
विदेशबाट ल्याइएको सुनचाँदी भएमा त्यसको प्रमाणसमेत देखाउनुपर्नेछ।
व्यवसायीले उपभोक्ताबाट सङ्कलन गरेको सीप प्रवर्धन शुल्क अर्को महिनाको २५ गतेभित्र दाखिला गर्नुपर्नेछ। तोकिएको समयभित्र शुल्क दाखिला नगरेमा १५ प्रतिशतका दरले ब्याज लाग्ने कार्यविधिमा उल्लेख छ।
कारोबार परीक्षणका क्रममा सीप प्रवर्धन शुल्क छली गरेको पाइए कर अधिकृतले शुल्क निर्धारण गर्न सक्नेछ। कुनै व्यवसायीले शुल्क असुल नगरेमा, बिक्री कारोबार खण्डीकरण गरेमा, वास्तविक कारोबारभन्दा कम कारोबार घोषणा गरी न्यून शुल्क असुल गरेमा वा अन्य कुनै माध्यमबाट शुल्क छली गरेको पाइएमा निर्धारित शुल्कमा २५ प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ।











