काठमाडौं। नगर विकास कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि सरकारले दरखास्त खुलाएको छ। नगर विकास कोष ऐन २०५३, नियमावली २०५४ तथा कर्मचारी सेवा सर्त नियमावली २०६८ अनुसार रिक्त रहेको उक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो।
आवेदकको शैक्षिक योग्यतामा अर्थशास्त्र, व्यवस्थापन, चार्टर्ड एकाउन्टेन्सी वा इन्जिनियरिङमध्ये कुनै विषयमा स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्ष वा स्नातक गरी कम्तीमा ७ वर्षको अनुभव हुनुपर्नेछ। दरखास्त दिने अन्तिम मितिसम्म उमेर ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको हुनुपर्छ।
उम्मेदवारले दरखास्त फारामका साथै नेपाली नागरिकता प्रमाणपत्र , शैक्षिक योग्यता, तालिम र अनुभवका प्रमाणित प्रतिलिपिहरू पेस गर्नुपर्छ। साथमा स्वघोषणा र व्यावसायिक योजनासहितको ५ हजार शब्दसम्मको कार्यपत्र पेस गर्नुपर्ने सोमबार प्रकाशित कार्यकारी निर्देशक सिफारिस समितिको सूचनामा छ।
आवेदन नगर विकास कोषको कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा २१ दिनभित्र बुझाउनुपर्छ।
कोष नेपाल सरकारको एक स्वायत्त वित्तीय संस्था हो। यसले खानेपानी, बसपार्क, व्यावसायिक भवन र फोहोरमैला व्यवस्थापन जस्ता पूर्वाधार आयोजनामा ऋण तथा अनुदान उपलब्ध गराउँछ। साथै, नगरपालिकाहरूलाई वित्तीय र प्राविधिक रूपमा सक्षम एवं आत्मनिर्भर बनाउन सम्भाव्यता अध्ययन, परामर्श र क्षमता अभिवृद्धिमा सहयोग गर्छ।











