काठमाडौं। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले लगातारको वर्षाका कारण क्षति पुगेका क्षेत्रका जनप्रतिनिधिहरुसँग छलफल गरेका छन्।
बाढी र पहिरोका कारण देशभर जनजीवन प्रभावित भएपछि मन्त्री लम्सालले प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकालसहित प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग नागरिकको पुनःस्थापना तथा क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका विषयमा छलफल गरेका हुन्।
छलफलमा बाढीका कारण विस्थापित परिवारका लागि अस्थायी आवासको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्य तत्काल अघि बढाउने विषयमा छलफल भएको छ।
मन्त्री लम्सालले पछिल्लो तीन दिनको बाढी र वर्षाका कारण क्षति पुगेका पुल, सडक, झोलुङ्गे पुल, खानेपानीलगायतका आयोजनाको क्षति मूल्याङ्कन गरी तत्काल बजेट व्यवस्थापन गरेर टेन्डर प्रक्रियामार्फत पुनर्निर्माणको काम अघि बढाउने बताए। उनले यसै महिनाभित्र पुनर्निर्माणको काम सुरु गर्ने प्रतिबद्धता छलफलका क्रममा व्यक्त गरे।
लगातारको वर्षा र बाढीका कारण कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दीको पोखरेबगर, बागलुङको मालढुंगा तथा तनहुँ नवलपरासीको देदगाउँस्थित पुलका एप्रोच सडक बगाएको छ। कालिगण्डकीको पक्की पुल बगाएको छ। कालीगण्डकी करिडोरका विभिन्न सडकखण्डका साथै डुम्रे बेँसीसहर चामे सडकखण्डमा ठूलो क्षति पुगेको छ।
डुम्रे बेंसीसहर चामे सडक खण्ड अन्तर्गत रामबजार स्याङगे लमजुङमा मर्स्याङ्दी नदीको कटानका कारण करिब ४० मिटर सडक पूर्ण रुपमा भासिएको छ। नासो, खोत्रो मनाङमा ढुङ्गासहितको पहिरोका कारण सडक अबरुद्ध छ। नासो, बगरछाप मनाङमा मर्स्याङ्दी नदीको कटानका कारण करिब ५० मिटर सडक पूर्ण रुपमा भासिएको छ।
चामे, मनाङमा बाढीका कारण तीन अस्थायी काठे पुल बगेका छन्। बाढी र पहिरोका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमार्गसहित विभिन्न जिल्लाका दर्जनभन्दा बढी सडकहरूमा क्षति पुगेको छ।
बाढी तथा पहिरोका कारण रुकुम पूर्वको नाथीगाड झोलुङ्गे पुल, बागलुङ-पर्वत जलजला फोर्से झोलुङ्गे पुलमा पूर्ण रुपमा क्षति पुगेको छ।
तनहुँको घिरिङ करुवाटार-नवलपुरको बुलिङटार मचेडी जोड्ने झोलुङ्गे पुल, स्याङ्जाको गल्याङ बेल्चौर-पाल्पाको रम्भा नौगाउँ-साठी बजार जोड्ने झोलुङ्गे पुल, पाल्पाको कासिबन-तनहुँको अत्रौली जोड्ने झोलुङ्गे पुल, पर्वत-स्याङ्जा जोड्ने सेतीबेणी झोलुङ्गे पुल तथा म्याग्दीको बेनी-पर्वतको जलजला जोड्ने झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ। बाढी र पहिरोले ३१ वटा खानेपानी आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ।











