काठमाडौं। अमेरिका र इरानबीच तेल आपूर्तिका लागि महत्त्वपूर्ण मानिने होर्मुज खोल्ने विषयमा तनाव झनै बढेको छ।
इरानले आफ्ना सर्तहरू पूरा नभएसम्म होर्मुज नखोल्ने अडान दोहोर्याएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो युद्धविराम र होर्मुज खोल्ने प्रस्ताव अस्वीकार गरेका छन्।
इरानले लेबनान र यमनसहित सम्पूर्ण खाडी क्षेत्रमा जारी सैन्य गतिविधि र अमेरिकी नाकाबन्दीको अन्त्य हुनुपर्ने माग राखेको छ। त्यस्तै, इरानको रोक्का गरिएको सम्पत्ति फुकुवा र तेल बिक्रीमाथिको प्रतिबन्ध हटाउनुपर्ने माग पनि अघि सरिएको छ।
कतारमार्फत पठाइएको ७ दिने योजनाका सर्तहरू अमेरिकाले स्वीकार गरेमा ७ दिनभित्रै होर्मुज पुनः खोलेर समुद्री आवतजावत सामान्य बनाइने इरानी विदेशमन्त्री अब्बास अराघ्चीले भनेका छन्।
तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरान कमजोर स्थितिमा रहेकाले सम्झौता गर्न चाहेको दाबी गर्दै आएका छन्। उनले प्रस्ताव अस्वीकार गरे पनि इरानी पक्षले मध्यस्थकर्तामार्फत औपचारिक धारणा आएपछि मात्र अन्तिम निर्णय लिइने जनाएको छ।
यसैबिच, संयुक्त राष्ट्रसंघमा साउदी अरबले रणनीतिक जलमार्गहरू खुला राख्न अन्तर्राष्ट्रिय समुदाय असफल भएको टिप्पणी गरेको छ। रसियाले यस क्षेत्रमा स्थायित्वका लागि सहयोग गर्न तयार रहेको जनाएको छ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इरान वार्ताबाट नभाग्ने तर अमेरिकामाथि अझै विश्वासको वातावरण बनिनसकेको भनेका छन्।











