काठमाडौं। पृथ्वी राजमार्गको मलेखु-मुग्लिन सडक खण्डमा डेढ दर्जन ठाउँमा पहिरो गएको छ।
सडक विभागका अनुसार यो खण्डमा शीतलबजार, गोमति खोला, कृष्णभीर, ज्यामिरेघाट चौकीभीर, हुग्दी खोलादेखि जवाङ खोला, फिस्लिङ, धारापानी, चुम्लिङटार, धारापानी, घोप्टेभीर र सिमलधारामा डेढ दर्जनभन्दा बढी ठाउँमा पहिरो गएको हो।
सडक विभागका अनुसार शीतलबजारमा लेदो र रुखसहितको पहिरो गएको छ भने सडक छेउ हल्का भासिएको छ। गोमति खोलामा पनि लेदोसहितको पहिरो गएको छ। जसका कारण यी दुवै ठाउँमा सडक एकतर्फीरुपमा बन्द छ।

कृष्णभीरमा माथिबाट लेदोसहितको पहिरो खसेका कारण दुईतर्फी अवरुद्ध छ। ज्यामिरेघाट चौकीभीर ढुङ्गा र लेदोसहितको पहिरोका कारण दुईतर्फी अवरुद्ध रहेको विभागले जनाएको छ।
हुग्दी खोलादेखि जवाङ खोलाको बीचमा आधा दर्जनभन्दा बढी स्थानमा ढुङ्गासहितको पहिरो खसेको छ। यस्तै फिस्लिङमा विभिन्न ३ स्थानमा २०० मिटरभन्दा बढी भाग ठूला ढुङ्गा, लेदो र रुखसहितको पहिरो खसेको छ भने सडकको आधा भाग करिब ३० मिटर चर्किएको छ।

चुम्लिङटारमा ढुङ्गासहितको पहिरो खसेका कारण सडक एकतर्फी भएको छ। धारापानीका २ स्थानमा गरी करिब ५० मिटर सडकको आधा भाग भत्किएको छ। पहिरोले भरिएको कल्भर्ट खुलाउने काम गरी सडक एकतर्फी बनाइएको छ।
घोप्टेभीरमा ठूला ढुङ्गा र लेदोसहितको पहिरोका कारण सडक दुईतर्फी रुपमा अवरुद्ध भएको छ।

सिमलधारामा ढुङ्गा र माटोसहितको पहिरोका कारण सडक दुईतर्फीरुपमा अवरुद्ध भएको छ। विभागले पानी पर्न रोकिएपछि सबै स्थानमा आवश्यक मेसिन उपकरण परिचालन गरी अवरुद्ध सडक खोलिने बताएको छ। विभागले यो सडक खण्डमा आइतबार यात्रा नगर्न आग्रह गरेको छ।












