काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत आयोजना निर्माणमा आफ्ना पार्टीका नेता कार्यकर्ताबाट अवरोध भएको अवस्थामा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
गगनले बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को टोलीसँग आयोजना निर्माणमा कांग्रेस कार्यकर्ताले कुनै किसिमको अवरोध गरे उजुरी गर्न आग्रह गर्दै कारबाहीको प्रतिबद्धता जनाए।
‘नेपाली कांग्रेसमा आबद्ध स्थानीय सरकारले कहीँ कतै निजी क्षेत्रलाई कानुनसम्मत रूपमा काम गर्न अवरोध गर्यो भने पार्टीको संयन्त्रमा गुनासो गर्न सकिने व्यवस्था छ,’ उनले भने, ‘जुन कुनै स्थानीय सरकारले मलाई कानुनी रूपमा काम गर्न दिइरहेको छैन भनेर यहाँ आएर भन्नुभयो भने त्यसमा सहजीकरण गर्नु हाम्रो जिम्मेवारी हुन्छ।’
उनले पार्टीसँग जोडिएको स्थानीय सरकार वा जनप्रतिनिधिले निजी क्षेत्रलाई अनावश्यक रूपमा दुःख दिने अवस्था स्वीकार्य नहुने बताए।
इप्पानका पदाधिकारीले आयोजना निर्माणमा पछिल्लो समय राजनीतिक दलका कार्यकर्ताबाट अवरोध गर्ने क्रम बढेको गुनासो गरेका थिए।
कतिपय आयोजनामा स्थानीय समुदायका नाममा अस्वाभाविक माग राख्ने, निर्माण सामग्री तथा उपकरण ढुवानी रोक्ने, बाटो अवरुद्ध गर्ने र आयोजनासँग पटक-पटक थप रकम माग गर्ने प्रवृत्ति देखिएकोले काम गर्न समस्या परेको प्रवर्धकहरुको भनाइ थियो।











