काठमाडौं । सिप्रदी यात्रीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर यात्री पी२ को मूल्य औपचारिक रूपमा सार्वजनिक गरेको छ।
कम्पनीले पी२ को प्रारम्भिक मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ तय गरेको छ। योसँगै नेपालमै इन्जिनियरिङ्ग तथा उत्पादन गरिने विद्युतीय मोबिलिटी विकास गर्ने सिप्रदी यात्रीको यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपिएको कम्पनीले जनाएको छ।
नेपालका विविध र चुनौतीपूर्ण सडक तथा भौगोलिक अवस्थालाई ध्यानमा राखेर पी२ स्कुटरको विकास गरिएको छ। शहरी आवतजावतका लागि मात्र नभइ उकालो बाटो, घुम्ती सडक, दैनिक शहरको ट्राफिकदेखि लामो दूरीका यात्रासम्मलाई ध्यानमा स्कुटर डिजाइन गरिएको जनाइएको छ।
पी२ मा कार्यक्षमता, रेन्ज, सहज चार्जिङ, कनेक्टिभिटी र राइडर केन्द्रित प्रविधिलाई एउटै प्लेटफर्ममा समेटिएको छ। ग्राहकले आफ्नो आवश्यकता र प्राथमिकता अनुसार ब्याट्री क्षमता, रङ तथा कम्फर्ट र कनेक्टिभिटीका अन्य विकल्पहरू छनोट गरेर स्कुटरलाई आफूअनुकूल बनाउन सक्ने कम्पनीले जनाएको छ।
नेपालको सडकका लागि इन्जिनियरिङ गरिएको पी२ को मुख्य विशेषतामध्ये पीएमएसएम मिड-ड्राइभ मोटर एक हो, जसलाई विभिन्न सडक तथा ड्राइभिङ अवस्थामासमेत उत्कृष्ट कार्यक्षमता दिन सक्ने गरी डिजाइन गरिएको भनिएको छ। यसले पांग्रामा ३१५ एनएम टर्क उत्पादन गर्छ। साथै, एक्टिभ्ली-कुल्ड हाई-पावर कन्ट्रोलरले विशेषगरी उकालो सडकमा समेत निरन्तर र भरपर्दो कार्यक्षमता कायम राख्न सहयोग गर्छ।
पी२ मा उच्च मजबुतीको स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन र १४ इन्चका पाङ्गा प्रयोग गरिएको छ, जसले नेपालका विभिन्न प्रकारका सडकमा स्थिरता र नियन्त्रण कायम राख्न मद्दत गर्ने कम्पनीको भनाइ छ। डुअल डिस्क ब्रेकसँगै कम्बाइन्ड ब्रेकिङ सिस्टमले ब्रेक लगाउँदा थप आत्मविश्वास प्रदान गर्ने भनिएको छ।

पी२ मा ग्राहकको दैनिक यात्राको आवश्यकता अनुसार छनोट गर्न मिल्ने तीनवटा ब्याट्री विकल्प उपलब्ध गराइएको छ। ३.० किलोवाट आवर ब्याट्रीले शहरभित्र वास्तविक अवस्थामा ९० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ। ३.७ किलोवाट आवर ब्याट्री:ले शहरभित्र वास्तविक अवस्थामा ११२ किलोमिटरसम्मको रेन्ज दिने भनिएको छ।
त्यस्तै, ५.२ किलोवाट आवर ब्याट्रीले शहरभित्र वास्तविक अवस्थामा १५७ किलोमिटरसम्मको रेन्ज दिने उल्लेख छ। थप रेन्ज आवश्यक पर्ने राइडरका लागि एक्स्टेन्डर प्याक मार्फत थप ५० किलोमिटरसम्मको रेन्ज प्राप्त गर्न सकिने भनिएको छ।
पी२ का ब्याट्री सिस्टमहरू विशेष रूपमा यही प्लेटफर्मलाई ध्यानमा राखेर विकास गरिएका हुन् र नेपालको संचालन अवस्थाअनुसार परीक्षणसमेत गरिएको छ।
पी२ मा उद्योगकै अग्रणीमध्ये एक मानिने ८ वर्ष वा ८०,००० कि.मि. सम्मको ब्याट्री वारेन्टी उपलब्ध छ। जसले दीर्घकालीन प्रयोगमा ग्राहकको विश्वासलाई थप मजबुत बनाउने यात्रीको विश्वास छ।
पी२ मा इन्स्टल्ड अनबोर्ड चार्जर रहेको छ। यसकारण घरमा चार्ज गर्दा छुट्टै चार्जिङ एडाप्टर बोकिरहनु पर्दैन। ब्याट्रीको कन्फिगरेसन अनुसार घरमै २.५ घण्टाभन्दा कम समयमा चार्ज गर्न सकिन्छ। लामो यात्रा वा छिटो चार्ज गर्नुपर्ने अवस्थामा पी२ ले डीसी फास्ट चार्जिङ पनि सपोर्ट गर्छ। तोकिएका चार्जिङ अवस्थाअनुसार करिब ४१ मिनेटमा चार्ज गर्न सकिन्छ।
शहरबाहिर यात्रा गर्ने पी२ प्रयोगकर्तालाई समेत सहज बनाउन सिप्रदी यात्रीले देशभर आफ्नो चार्जिङ नेटवर्क विस्तार गरिरहेको जनाएको छ।
पी२ ले प्रविधिमा केन्द्रित राइडिङ अनुभव प्रदान गर्ने उद्देश्यले ७ इन्च टीएफटी डिस्प्ले उपलब्ध गराएको छ। त्यसमा वायरलेस एप्पल कार प्ले, एन्ड्रोइड अटो सुविधा पनि समावेश छ। डिस्प्लेबाट नेभिगेसन तथा आवश्यक राइडिङ सम्बन्धी जानकारी हेर्न सकिन्छ।
साथै, इन्टिग्रेटेड सेन्सरहरूले कम्पासको दिशा, रोल र पिचलगायतका जानकारी रियल-टाइममा उपलब्ध गराउँछन्। पी२ को कनेक्टेड आर्किटेक्चरमार्फत स्कुटरमा फोर जी कनेक्टिभिटी प्रयोग गरी यात्रीको नेटवर्कसँग जोडिइरहने कम्पनीको भनाइ छ।
यसको मोबाइल एपमार्फत ग्राहकले लाइभ भेहिकल ट्र्याकिङ, रियल-टाइम चार्जिङ जानकारी, रुट प्लानिङ र सर्भिस अपोइन्टमेन्ट जस्ता सुविधा प्रयोग गर्न सक्छन्। स्कुटरमा प्रोक्सिमिटी डिटेक्सन प्रविधि पनि रहेको छ, जसले चाबीबिना स्कुटर चलाउने सुविधा प्रदान गर्ने भनिएको छ।
पी२ मा विभिन्न सडक तथा राइडिङ अवस्थाअनुसार स्कुटरको अनुभव आफूअनुकूल बनाउन मल्टिपल राइडिङ मोड, स्मार्ट चार्जिङ मोड र मल्टिपल लेभल रिजेनेरेटिभ ब्रेकिङ उपलब्ध छन्। बारम्बार रोकिनुपर्ने शहरको ट्राफिक तथा लामो यात्राका क्रममा यसमा रहेको हिल होल्ड र क्रुज कन्ट्रोल जस्ता सुविधाले दैनिक यात्रा अझ सहज बनाउन सहयोग गर्ने कम्पनीको दाबी छ।
रिजेनेरेटिभ ब्रेकिङले गति घटाउँदा स्कुटरको केही ऊर्जालाई पुनः विद्युतीय ऊर्जामा रूपान्तरण गरी ब्याट्रीमा भण्डारण गर्न सहयोग गर्ने भनिएको छ।
पी२ मा क्लास-डी हेडलाम्प जस्ता सुविधाहरू छन्, जसले अझ प्रभावकारी प्रकाश प्रदान गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ। त्यस्तै, रिजेन-रिस्पोन्सिभ टेललाइटले स्कुटरको गति घट्दा पछाडिबाट आइरहेका सवारीलाई त्यसको संकेत दिन्छ। कनेक्टेड प्लेटफर्ममार्फत एन्टी थेफ्ट नोटिफिकेसन र मोटर लक जस्ता सुविधा पनि उपलब्ध छन्, जसले स्कुटर पार्क गरेर राखिएको अवस्थामा थप सुरक्षा प्रदान गर्ने कम्पनीको भनाइ छ।











