काठमाडौं। नेपाल बीमक संघले भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिमा इन्स्योरेन्स गराएकाहरुलाई दाबी माग गर्न भनेको छ।
संघले प्राकृतिक विपद्बाट बीमा गरिएको आफ्नो सम्पत्ति, सवारीसाधन, व्यवसाय वा अन्य बीमित सम्पत्तिमा क्षति पुगेको भए कम्पनीमा सम्पर्क गर्न भनेको हो। संघले बीमाबाट सुरक्षित सम्पत्तिमा भएको क्षतिको जोखिम बहन गर्न प्रतिवद्ध रहेको जनाएको छ।
‘कठिन परिस्थितिमा बीमा क्षेत्र प्रभावित बीमित तथा सर्वसाधारणको साथमा रहेको र बीमाबाट सुरक्षित सम्पत्तिमा भएको क्षतिको जोखिम बहन गर्न प्रतिवद्ध रहेको व्यहोरा समेत अवगत गराउन चाहन्छौं,’ संघले विज्ञप्तिमा भनेको छ, ‘बीमा दावी भुक्तानी कार्यमा सहजीकरणका लागि कम्पनीलाई आग्रह गरेको छ।’
संघले क्षतिको यथाशिघ्र मूल्यांकन तथा दावी फछ्र्यौट प्रकृयालाई प्रभावकारी रुपमा अघि बढाउन कम्पनीलाई आग्रह समेत गरेको छ।










