काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग सल्लाह नगरी सर्वदलीय बैठक बोलाएको खुलेको छ।
सुनसरी घटनालाई लिएर लामिछानेको आह्वानमा बुधबार बिहान राखिएको सर्वदलीय बैठकका बारेमा सरकारलाई औपचारिक जानकारीनै नभएको उच्च स्रोतले बतायो।
‘सर्वदलीय बैठकको बारेमा सरकारलाई कुनै औपचारिक जानकारी थिएन। त्यही भएर यो घटनासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रीको उपस्थिति नभएको हो,’ स्रोतले भन्यो, ‘पार्टी सभापतिले आफ्नो हिसाबले बैठक डाक्नुभएको होला।’
सर्वदलीय बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी भएका थिए। स्रोतका अनुसार प्रधानमन्त्री शाहको सल्लाहमा अर्थमन्त्री वाग्ले सर्वदलीय बैठकमा सहभागी भएका होइनन्। ‘सरकारलाई जानकारी भएको भए अर्थमन्त्री होइन बैठकमा गृहमन्त्रीज्यूनै जानु हुन्थ्यो,’ प्रधानमन्त्री शाह सचिवालय स्रोतले भन्यो, ‘यो संवदेनशील विषयमा सरकारले गम्भीर भएर समाधानको बाटो निभाइरहेको छ। यो बेलामा गिजोल्ने काम गर्नु हुँदैन।’
सर्वदलीय बैठक सरकार संचालन गरिरहेको दलले नभई प्रधानमन्त्रीले आब्हान गर्नुपर्ने भन्दै शाहको आलोचना भइरहेको छ। लामिछानेले बोलाएको सर्वदलीय बैठकमै पनि प्रधानमन्त्री शाहको भूमिकाको विषयमा प्रतिपक्षमा रहेका सबै नेताले प्रश्न गरेका थिए। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापाले शाहको भूमिकामाथि प्रश्न गर्दै सरकार लाठी र स्ट्याटसमा सीमित रहेको आरोप लगाएका थिए।
नेकपा एमाले महासचिव शंकर पोखरेलले मुलुकमा शान्ति सुरक्षा सुदृढ बनाउने नेतृत्व स्वयं प्रधानमन्त्रीले लिनुपर्ने बताएका थिए। उनले सरकार र प्रधानमन्त्रीबाट संवेदनशील विषयमा पनि पहलकदमीको कमी देखिएको बताए। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीले तत्कालै सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद गर्नुपर्ने बताएका थिए।










