काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार सामाजिक सञ्जालका स्टाटसमा मात्र सीमित भएको भन्दै वर्तमान अवस्थाबारे गम्भीर प्रश्न उठाएका छन्। उनले अहिले सरकार जनताको बीचमा नभई बन्दुकको गोली र लाठीमा मात्र देखिएको टिप्पणी गरेका छन्।
सुनसरीको देवानगञ्जमा भएको झडपपछि उत्पन्न परिस्थितिबारे साझा धारणा बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा थापाले यस्तो धारणा राखेका हुन्।
उनले सरकारको भूमिका प्रभावकारी नदेखिएको भन्दै वर्तमान अवस्था सरकारकै असफलताको परिणाम भएको बताए।
थापाले आफूहरू सरकारलाई अप्ठेरो पार्ने उद्देश्यमा नरहेको स्पष्ट पारे। तर, राज्यले देखाएको कमजोरी र असफलतालाई स्वीकार गरेर सुधारतर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
उनले अहिलेको संवेदनशील परिस्थितिमा राजनीतिक दलहरूबीच एकता र सहकार्य आवश्यक रहेको पनि बताए। सामाजिक सद्भाव कायम गर्न सबै राजनीतिक दल एउटै ठाउँमा उभिएका छन् भन्ने सन्देश दिन बैठक आयोजना गरिएको उनको भनाइ थियो।
देवानगञ्जमा भएको झडपपछि सामाजिक सद्भाव र सुरक्षा अवस्थाबारे चासो बढिरहेका बेला प्रमुख राजनीतिक दलहरू साझा धारणा बनाउन छलफलमा जुटेका हुन्। बैठकमा नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायत शीर्ष नेताहरू सहभागी रहेका छन्।








