म्याद सकिने दिन नजिकिँदा काँकडभिट्टा-लौकही खण्ड विस्तारमा तीव्रता, पूर्वी खण्डमा ३८% प्रगति



बिजमाण्डू
२०८३ साउन ११ गते ०९:५५ | Jul 27, 2026
म्याद सकिने दिन नजिकिँदा काँकडभिट्टा-लौकही खण्ड विस्तारमा तीव्रता, पूर्वी खण्डमा ३८% प्रगति


भद्रपुर (झापा)। पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको पूर्वी खण्डमा काम धमाधम भइरहेको छ। ठेक्काको समयावधि सकिने दिन नजिकिँदा मात्रै कामले गति लिएको हो। पूर्वी खण्डमा हालसम्म करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ।

Tata
GBIME

सडक विभागअन्तर्गत आयोजना निर्देशनालयमार्फत अघि बढाइएको ९५ किलोमिटर लामो यस आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरिएको छ। पूर्वी खण्डअन्तर्गत काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर सडक स्तरोन्नतिको कामले पछिल्लो समय तीव्रता पाइरहेको छ।

आयोजनाको पछिल्लो विवरणअनुसार पूर्वी खण्डमा पहिलो, दोस्रो र तेस्रो प्याकेजको समग्र भौतिक प्रगति ३७.७८ प्रतिशत पुगेको छ। निर्माण कार्यले पछिल्लो समय गति लिए पनि सम्झौता अवधि सकिन करिब ६ महिना मात्र बाँकी छ।

पूर्वी खण्डका आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म १६.५ किलोमिटर सडकमा कालोपत्रे भइसकेको छ। मौसमले साथ दिए दैनिक ४०० देखि ८०० मिटरसम्म कालोपत्रे गर्ने लक्ष्य रहेको उनले बताए।

‘निर्माण व्यवसायीसँग पर्याप्त बिटुमिन मौज्दात रहेकाले आगामी दसैँसम्म थप १५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना छ,’ पन्तले भने, ‘वर्षायामका कारण केही अवरोध भए पनि निर्माण कार्यलाई निरन्तरता दिइरहेका छौँ।’ पूर्वी खण्डमा इभरस्कोन–कालिका जेभीले स्तरोन्नतिको काम गरिरहेको छ।

काँकडभिट्टा-सीतापुरीसम्मको ४५ किलोमिटर सडक स्तरोन्नतिका लागि १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको हो। २०८० माघ १९ देखि सुरु भएको निर्माण २०८३ माघ १८ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

एसियाली विकास बैंकको ८४.९ प्रतिशत ऋण र नेपाल सरकारको १५.१ प्रतिशत लगानी रहेको योजना सम्पन्न भएपछि सहरी क्षेत्रमा चार लेनको सडक, बीचमा तीन मिटर चौडा डिभाइडर र दुवैतर्फ सर्भिस लेनसहित करिब ५० मिटर चौडाइको सडक संरचना निर्माण हुनेछ। रासस