काठमाडौंबाट हराउँछन् वर्षमा १० हजार मोबाइल, आधाभन्दा बढी फेलै नपर्नुमा छन् तीन कारण



बिजमाण्डू
२०८३ साउन १० गते १२:५८ | Jul 26, 2026
काठमाडौंबाट हराउँछन् वर्षमा १० हजार मोबाइल, आधाभन्दा बढी फेलै नपर्नुमा छन् तीन कारण
काठमाडौं जिल्ला प्रहरी परिसरमा गत असार अन्तिम साता हराएर भेटिएका मोबाइल फिर्ता पाउँदा खुसी सर्वसाधारण।


काठमाडौं। नाम, नम्बर, फोटो, बैंक खाता, नागरिकता, लाइसेन्स, डिजिटल वालेट, इमेल। एउटा मोबाइल सेटभित्र हाम्रा लागि अथाह सुविधा छ। यदि मोबाइल हरायो भने के गर्नु हुन्छ? प्रहरीलाई खबर गर्नु हुन्छ? गर्नुपर्छ। नम्बर लकदेखि मोबाइल बैंकिङ पनि लक गराउनु पर्छ।

Tata
GBIME

काठमाडौंबाट मात्र बर्सेनि १० हजारभन्दा बढी मोबाइल सेट हराउने गरेका छन्। प्रहरीमा परेको उजुरीको आधारमा खोजी गर्दा झन्डै २५ प्रतिशत मात्र मोबाइल फेला पर्छ। आधाभन्दा बढी मोबाइल सेट भेटिँदैनन्, न प्रहरीले तिनलाई आइएमइआइ नम्बरबाट नै ट्रयाक गर्न सक्छ।

आर्थिक वर्ष २०८२/८३ मा पनि काठमाडौं जिल्ला प्रहरी परिसरमा १० हजार ३ सय ३७ वटा मोबाइल हराएको उजुरी आएका थिए। जसमा २ हजार ८ सय ८३ वटा मात्र फेला परे। हिसाब गर्दा भेटिएको २७ प्रतिशत मात्र हो। आखिर किन हराएका मोबाइल प्रहरीले खोज्न सक्दैन?

जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले मुख्य तीन कारणले प्रहरीले हराएको मोबाइल नभेटिएको दाबी गरे। पहिलो, हराएको मोबाइल भेट्ने मानिसले प्रयोग नगर्नु देखिएको छ। अर्थात उसले हराएको मोबाइल अन गर्दैन। त्यसमा सिम कार्ड समेत प्रयोग गर्दैन। जसले गर्दा प्रहरीलाई ट्रयाक गर्न गाह्रो पर्ने गरेको छ।

‘मोबाइल नै प्रयोग नगरेपछि त्यसको खोजी गर्न समस्या पर्छ। उनीहरूले अरु नै विकल्पमा मोबाइल प्रयोग गर्छन्,’ एसपी भट्टराईले भने।

यसरी हराएका र चोरी भएका मोबाइलको पार्टपुर्जाहरू निकालेर बेच्ने गरिन्छ। यसरी पार्टपुर्जाहरू छुट्टाछुट्टै प्रयोग गर्दा पनि नभेटिनुको दोस्रो कारण रहेको प्रहरीको दाबी छ। त्यस्तै तेस्रो भनेको नेपालमा हराएका मोबाइल भारतमा लगेर बिक्री गर्दा पनि प्रहरीले सहजै पत्ता लगाउन नसकेको हो। यी बाहेक अन्य कारणले पनि मोबाइल नभेटिने गरेको प्रहरीको भनाइ छ।

आर्थिक वर्ष २०८१/८२ मा काठमाडौंबाट मात्र १४ हजार ८ सय वटा मोबाइल हराएका थिए। जसको मूल्य ५० करोड रुपैयाँ भन्दा बढी थियो।