विदेशी पर्यटक आगमन एक वर्षमा १२ लाख, भारतबाट मात्रै तीन लाखभन्दा बढी



बिजमाण्डू
२०८३ साउन ९ गते १३:०१ | Jul 25, 2026
विदेशी पर्यटक आगमन एक वर्षमा १२ लाख, भारतबाट मात्रै तीन लाखभन्दा बढी


काठमाडौं। भारतबाट नेपाल घुम्न आउने पर्यटकको संख्या बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक भित्रिँदा त्यसमा २५ प्रतिशत संख्या भारतीयको रहेको पाइएको छ।

Tata
GBIME

नेपाल पर्यटन बोर्डका अनुसार तथ्यांकले भारत नेपालको सबैभन्दा ठूलो पर्यटक स्रोत बजार बनेको देखाएको छ। गत आवमा भारतबाट मात्रै ३ लाख ११ हजार ५३१ पर्यटक नेपाल आएका छन्, जुन कुल पर्यटक आगमनको २५.७६ प्रतिशत हो।

बोर्डका अनुसार अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल आएका छन्। त्यसपछि बंगलादेशबाट ५८ हजार १६३, बेलायतबाट ५६ हजार ६४९, अष्ट्रेलियाबाट ५३ हजार १९५, श्रीलंकाबाट ४३ हजार २११, भुटानबाट ३६ हजार २८९, म्यानमारबाट ३० हजार ७३७, जर्मनीबाट २९ हजार २९६, थाइल्यान्डबाट २७ हजार २०१, जापानबाट २५ हजार ७६२ तथा मलेसियाबाट २५ हजार ६४० पर्यटक आएका छन्।

मासिक रूपमा हेर्दा कात्तिकमा सबैभन्दा धेरै १ लाख २४ हजार ८२९ पर्यटक नेपाल आएका थिए। त्यसपछि चैतमा १ लाख १९ हजार ३९०, फागुनमा १ लाख १४ हजार १५२ र असोजमा १ लाख ११ हजार ७८० विदेशी पर्यटक भित्रिएका थिए।

पर्यटन बोर्डले भारत र चीनलाई लक्षित गरी प्रवर्द्धनात्मक कार्यक्रम पनि गरिरहेको छ। गत आवमा भारतका प्रमुख सहरहरूमा १२ भन्दा बढी तथा अन्तर्राष्ट्रिय बजारमा ४० भन्दा बढी पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको थियो। सीमा क्षेत्र केन्द्रित पर्यटन मेला तथा क्रस–बोर्डर कार्यक्रमले पनि भारतीय पर्यटक आगमन बढाउन सहयोग पुगेको बोर्डको दाबी छ।

बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले अन्तर्राष्ट्रिय बजारमा गरिएको प्रवर्द्धन, हवाई पहुँच विस्तार र निजी क्षेत्रसँगको सहकार्यका कारण पर्यटक आगमनमा सकारात्मक वृद्धि भएको बताए। चीन, अमेरिका, अष्ट्रेलिया र बंगलादेशजस्ता सम्भावनायुक्त बजारमा लक्षित प्रवर्द्धन अझ विस्तार गरिने तथा सरकारले घोषणा गरेको ‘आरोग्य पर्यटन वर्ष २०२७’ ले चालु आर्थिक वर्षमा पर्यटक आगमन थप बढ्ने अपेक्षा उनले व्यक्त गरे।