वैद्य बने अनररी कन्सुलर कर्म्स नेपालको डीन: मन्त्री खनालको आग्रह, ‘आर्थिक कूटनीतिमा जोड दिनुस्’



बिजमाण्डू
२०८३ साउन ७ गते २२:२८ | Jul 23, 2026
वैद्य बने अनररी कन्सुलर कर्म्स नेपालको डीन: मन्त्री खनालको आग्रह, ‘आर्थिक कूटनीतिमा जोड दिनुस्’


काठमाडौं । प्रतिष्ठित व्यापारिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डिस्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज वैद्य अवैतनिक वाणिज्य दूतहरूको संगठन अनररी कन्सुलर कर्म्स नेपाल (एचसीसीएन) को डीनमा निर्विरोध निर्वाचित भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष वैद्य फिलिपिन्सका अवैतनिक वाणिज्यदूत हुन्।

Tata
GBIME

काठमाडौंमा सम्पन्न एचसीसीएनको साधारण सभाले वैद्यलाई नयाँ डीनमा सर्वसम्मत चयन गरेको हो।

यसअघि बुल्गेरियाका लागि अवैतनिक वाणिज्यदूत रहेका भोला थापा डीन थिए। सम्मेलनले एचसीसीएनको भाइस डीनमा पासाङ दावा शेर्पालाई चयन गरेको छ।

परराष्ट्र मन्त्री शिशिर खनालले १८औं वार्षिक साधारण सभामा अवैतनिक वाणिज्यदूतहरूलाई सम्बोधन गर्दै नेपाल र अन्य राष्ट्रहरूबीच आर्थिक कूटनीति, व्यापार, र पर्यटन प्रवर्द्धन गर्न वाणिज्यदूतहरूले खेल्ने भूमिकालाई विशेष महत्त्व दिएको बताए।

 नयाँ सरकारको प्राथमिकता सुशासन र समावेशी विकास रहेको उल्लेख गर्दै उनले वैदेशिक लगानी भित्र्याउन र प्रविधि हस्तान्तरणका लागि ठोस योजना बनाउन आह्वान गरेका छन्।

यसका साथै, सेवाग्राहीलाई छिटो र प्रभावकारी कन्सुलर सेवा प्रदान गर्न र जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन उनले विशेष जोड दिने बताए। मन्त्रालयले वाणिज्य दूतहरूलाई आवश्यक सहजीकरण र कानुनी सुधारमार्फत पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत बताए।

उनले नेपाल र अन्य देशहरूबिचको सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउन तीन वटा मुख्य कामहरू गर्नुपर्ने बताए। परराष्ट्र मन्त्रालयले हाल विभिन्न देशका लागि विशिष्ट योजनाहरू बनाउन काम गरिरहेको छ।

अवैतनिक महावाणिज्यदूतहरूलाई नेपालको राष्ट्रिय प्राथमिकताका क्षेत्रहरू जस्तै उच्च मूल्यको पर्यटन, प्रविधि हस्तान्तरण, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई), नवीकरणीय ऊर्जा, र व्यापार सहजीकरणमा ठोस रणनीतिक योजना तयार गर्न खनालले आह्वान गरे। यसका साथै, व्यापार र लगानी प्रवर्द्धनका लागि नियमित रूपमा व्यावसायिक फोरमहरू (बीटुबी फोरम) आयोजना गर्न समेत प्रोत्साहन गरिएको उनको भनाइ छ।

यसै गरी सार्वजनिक सेवकका रूपमा जनताको अपेक्षाप्रति संवेदनशील हुँदै कन्सुलर सेवाहरूलाई पहुँचयोग्य, दक्ष र सक्रिय बनाउनुपर्नेमा जोड दिइएको खनालको भनाइ छ। भिसा प्रक्रिया र कन्सुलर सहायतामा हुने ढिलाइ जस्ता समस्याहरूलाई समाधान गरी निर्बाध सेवा प्रवाह गर्दा द्विपक्षीय सद्भाव बलियो हुने खनालले विश्वास व्यक्त गरे।

खनालका अनुसार कूटनीति केवल व्यावसायिक सम्बन्धमा मात्र सीमित नभई मानवीय सम्बन्धमा आधारित हुने भएकाले शैक्षिक आदानप्रदान, सांस्कृतिक साझेदारी, र युवा संलग्नताका कार्यक्रमहरूलाई अगाडि बढाइने छ। यसले दुई देशका समाजबिच आपसी समझदारी बढाएर दीर्घकालीन साझेदारीको लागि बलियो जग निर्माण गर्ने खनालको भनाइ छ।

नेपालको औद्योगिक क्षेत्रमा लामो योगदान र अनुभव बटुलेका वैद्यको ६ दशक भन्दा पुरानो व्यापारिक घराना वैद्य अर्गनाइजेशन टोयोटा गाडीको आधिकारिक विक्रेताको रूपमा लामो समयदेखि रहँदै आएको छ। योसँगै ग्रुपले अटोसँगै सिमेन्ट, हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरिरहेको छ।

नवनियुक्त डिन वैद्यले नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउने, पर्यटन प्रवर्द्धन गर्ने र आर्थिक कूटनीतिलाई सुदृढ बनाउने कार्यलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउने बताएका छन्।

नवनियुक्त डिन वैद्यले नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउने, पर्यटन प्रवर्द्धन गर्ने र आर्थिक कूटनीतिलाई सुदृढ बनाउने कार्यलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउने बताएका छन्।

डिनको जिम्मेवारी सम्हालेपछि बिहीबार जारी गरेको प्रेस वक्तव्यमा वैद्यले नेपाल र अन्तर्राष्ट्रिय समुदायबिचको सम्बन्धलाई अझ प्रभावकारी बनाउँदै आर्थिक सहकार्य विस्तार गर्न सक्रिय रूपमा अघि बढ्ने बताएका हुन्।

उनले एचसीसीएनले हाल विश्वका ६४ भन्दा बढी मुलुकको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै ती राष्ट्रहरूले विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय व्यापार, प्रविधि, नवप्रवर्तन, पर्यटन तथा लगानीमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको बताए। पाँच अर्बभन्दा बढी जनसंख्या र १०० ट्रिलियन अमेरिकी डलरभन्दा बढीको संयुक्त आर्थिक आकार भएका ती मुलुकहरूसँग नेपालको सम्बन्ध विस्तार गर्नु आर्थिक विकासका लागि महत्त्वपूर्ण अवसर भएको उनको भनाइ छ।

वैद्यले नेपालले लगानी आकर्षित गर्ने, रोजगारी सिर्जना गर्ने, पर्यटन विस्तार गर्ने र अन्तर्राष्ट्रिय व्यापार बढाउने लक्ष्य लिएको वर्तमान अवस्थामा आर्थिक कूटनीतिको महत्त्व झनै बढेको बताए। मानार्थ वाणिज्यदूतहरूले सरकार-सरकारबीच मात्र नभई निजी क्षेत्र, लगानीकर्ता, उद्यमी, शैक्षिक संस्था र समुदायबिच सहकार्य विस्तार गर्ने सेतुको भूमिका निर्वाह गर्ने उनले उल्लेख गरे।