जग्गाको भाउ मनमैजुदेखि गोठाटारसम्म १०% वृद्धि, दरबारमार्ग लगायत भित्री भागमा ५% मात्रै



नेत्र तामाङ
२०८३ साउन ६ गते १५:४६ | Jul 22, 2026
जग्गाको भाउ मनमैजुदेखि गोठाटारसम्म १०% वृद्धि, दरबारमार्ग लगायत भित्री भागमा ५% मात्रै


काठमाडौं। उपत्यकाका अधिकांश क्षेत्रमा जग्गाको मूल्य १० प्रतिशतले बढेको छ। स्थानीय सरकारले जग्गाको न्यूनतम मूल्य १० प्रतिशतले बढाएका हुन्।

Tata
GBIME

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार अघिल्लो वर्ष आनाको २० लाखमा कारोबार हुने मनमैजु क्षेत्रमा सरकारी थैली अब २२ लाख पुगेको छ। यसैगरी फुटुङ क्षेत्रमा प्रति आना १८ लाख ५० हजारबाट २० लाख ३५ हजार पुगेको छ।

बौद्ध क्षेत्रमा पनि सरकारी मूल्यांकन १० प्रतिशतले बढेको छ। बौद्ध स्तुप वरपरका जग्गाको न्यूनतम मूल्यांकन यसअघि प्रति आना ४४ लाख ५० हजार रहेकामा नयाँ आर्थिक वर्षका लागि ४८ लाख ९५ हजार रुपैयाँ तोकिएको छ।

गोठाटार/पेप्सीकोला क्षेत्रमा २३ लाखबाट बढेर २५ लाख ३० हजार प्रति आना पुगेको छ।

दरबारमार्ग क्षेत्रमा ५ प्रतिशत वृद्धि

दरबारमार्ग क्षेत्रमा न्यूनतम मूल्यांकन करिब ५ प्रतिशत बढेको छ। गत आर्थिक वर्ष दरबारमार्ग, जमल र रत्नपार्क क्षेत्रमा प्रति आना जग्गाको सरकारी मूल्य ७२ लाख ६० हजार रहेकामा अहिले ४.९६ प्रतिशतले बढाएर ७६ लाख २० हजार पुर्‍याइएको छ।

नयाँ बानेश्वर क्षेत्रमा पोहोर प्रति आना सरकारी थैली ४३ लाख ५६ हजार रहेकामा नयाँ आर्थिक वर्षका लागि ४५ लाख ७३ हजार रुपैयाँ तोकिएको छ।

बल्खुदेखि वनस्थली क्षेत्रमा सडकले छोएका जग्गाको सरकारी भाउ ४७ लाखबाट बढेर ४९ लाख ३५ हजार पुगेको छ। धापासी क्षेत्रमा प्रति वर्गमिटर १ लाख ३३ हजार १०० बाट बढेर १ लाख ३९ हजार ८०० रुपैयाँ पुगेको छ।

सोल्टीमोड क्षेत्रमा प्रति आना जग्गाको सरकारी भाउ ४१ लाखबाट ४३ लाख रुपैयाँ पुर्‍याइएको छ।

कीर्तिपुर गेट क्षेत्रमा जग्गाको मूल्य बढाइएको छैन। अघिल्लो आर्थिक वर्ष यस क्षेत्रमा प्रति आना मूल्य १९ लाख २० हजार रहेकामा चालु आर्थिक वर्षका लागि पनि त्यसैलाई निरन्तरता दिइएको छ।

सीतापाइला र स्युचाटार क्षेत्रमा मुल सडकको जग्गाको भाउ प्रति आना १८ लाखबाट १९ लाख पुगेको छ।

भक्तपुरमा बढेन

भक्तपुरमा भने यसपटक जग्गाको न्यूनतम मूल्य बढाइएको छैन। गत आर्थिक वर्ष कटुन्जे क्षेत्रमा अरनिको हाइवे आसपास सरकारी मूल्य प्रति आना ४० लाख रुपैयाँ रहेकामा अहिले पनि यही दर कायम गरिएको छ।

कौशलटारबाट बालकोट क्षेत्र जाने मुल सडक छोएका जग्गाको मूल्य पोहोर २१ लाख ६५ हजार प्रति आना रहेकामा यसपटक पनि यही दरलाई निरन्तरता दिइएको छ।

भरपुरमा पनि पुरानै मूल्य

चितवनको भरतपुर महानगरपालिकाले पनि जग्गाको भाउ बढाएको छैन। महानगरको वडा ९ र १० मा प्रमुख सडक छोएका आवासीय क्षेत्रको जग्गाको भाउ प्रति कट्ठा एक करोड ७ लाख १० हजार रुपैयाँ छ। यो भनेको आनाको १० लाख ६ हजार हो।

सिर्जना चोक क्षेत्रको जग्गाको न्यूनतम मूल्यांकन प्रति कट्ठा ६५ लाख १० हजार रुपैयाँ छ। यो भनेको आनाको ६ लाख ११ हजार रुपैयाँ हो। पोहोर पनि न्यूनतम सरकारी मूल्य यही थियो।

वडा ८ स्थित धारेचोक क्षेत्रमा सडक आसपासका जग्गाको सरकारी भाउ प्रति कठ्ठा ४९ लाख ८८ हजार रुपैयाँ छ। ललितपुरका स्थानीय तहले भने जग्गाको न्यूनतम मूल्यांकन सार्वजनिक गरेका छैनन्।