बाढीपहिरोले पाँच प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध, राति यात्रा नगर्न प्रशासनको आग्रह



बिजमाण्डू
२०८३ साउन २ गते १५:५९ | Jul 18, 2026
बाढीपहिरोले पाँच प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध, राति यात्रा नगर्न प्रशासनको आग्रह
फाइल फोटो।


काठमाडौं। लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण ५ प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।

Tata
GBIME

केही संवेदनशील सडकखण्डमा रातिको समयमा सवारी आवागमनसमेत अर्को सूचना नभएसम्म रोकिएको छ।

बागमती प्रदेशको काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन संचालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारी संचालन गर्न अनुमति दिइएको छ।

मकवानपुरस्थित कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको यात्रा जोखिमपूर्ण बनेपछि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन संचालनमा प्रतिबन्ध लगाइएको छ।

इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलाम्मे बनेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक प्रयोग गर्न नसकिने अवस्था रहे पनि वैकल्पिक मार्ग उपलब्ध रहेको प्रशासनले जनाएको छ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका-२ ढुङ्ग्रेखोलास्थित सालझण्डी-ढोरपाटन सडकखण्डमा माथिबाट ठूलो ढुंगा खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। सडक खुलाउन सम्बन्धित निकायले प्रयास गरिरहेको भए पनि तत्काल संचालनमा आउने अवस्था छैन।

सिन्धुपाल्चोकको अरनिको राजमार्गमा भने दुई स्थानमा छुट्टाछुट्टै पहिरो खसेको छ। भोटेकोशी गाउँपालिका-४ जिरोकिलो र कोदारी क्षेत्रमा ढुंगा, माटो र लेदो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरस्थित कालीगण्डकी करिडोरमा पनि पहिरो खसेर सडक बन्द भएको छ। माथिबाट खसेको ढुंगा र माटोले सडक अवरुद्ध बनाएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।

प्रहरी र सडक विभागले वर्षायाममा पहिरो तथा बाढीको जोखिम अझै कायम रहेकाले यात्रा अघि सडकको अवस्था बुझ्न आग्रह गरेका छन्।