पेलेको ऐतिहासिक विश्वकप जर्सी ७५ करोड रुपैयाँमा बिक्री, २२ वर्षमा कति बढ्यो मूल्य?



बिजमाण्डू
२०८३ साउन १ गते १३:०९ | Jul 17, 2026
पेलेको ऐतिहासिक विश्वकप जर्सी ७५ करोड रुपैयाँमा बिक्री, २२ वर्षमा कति बढ्यो मूल्य?


काठमाडौं। ब्राजिलका महान फुटबलर पेलेले सन् १९५८ को फिफा विश्वकप फाइनलमा लगाएको ऐतिहासिक जर्सी ४.९ मिलियन अमेरिकी डलर (करिब ७५ करोड नेपाली रुपैयाँ) मा लिलामी भएको छ।

Tata
GBIME

सोथबीले गरेको लिलामीमा बिक्री भएको उक्त जर्सी पेलेसँग सम्बन्धित अहिलेसम्मकै सबैभन्दा महँगो खेल सामग्री बनेको हो।

पेलेले १७ वर्षको उमेरमा स्विडेनविरुद्धको फाइनलमा यही नम्बर १० को जर्सी लगाएर २ गोल गरेका थिए। ब्राजिलले उक्त खेल ५-२ ले जित्दै इतिहासमै पहिलो पटक विश्वकप उपाधि उचालेको थियो।

सन् १९५८ को विश्वकपले नै पेलेलाई विश्व फुटबलको सबैभन्दा ठूलो स्टारका रूपमा स्थापित गरेको मानिन्छ। उनी विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी पनि हुन्।

त्यसपछि उनले ब्राजिललाई सन् १९६२ र १९७० मा पनि विश्वकप जिताउँदै ३ पटक विश्वकप जित्ने एकमात्र खेलाडीको कीर्तिमान कायम गरेका छन्।

यो जर्सी फुटबल इतिहासकै बहुमूल्य जर्सीमध्ये एक बने पनि सबैभन्दा महँगो भने होइन। त्यो कीर्तिमान अझै पनि डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपमा इङ्ल्यान्डविरुद्धको चर्चित ‘ह्यान्ड अफ गड’ खेलमा लगाएको अर्जेन्टिनाको जर्सीकै नाममा छ। यो सन् २०२२ मा ९३ लाख अमेरिकी डलरमा बिक्री भएको थियो।

यो जर्सीका लागि ५ भन्दा बढीले १० पटकपसम्म बोली लगाएका थिए। यद्यपि, यो जर्सी कसले किन्यो भन्ने खुलाइएको छैन। १९५८ को फाइनल पछि पेलेले आफ्ना सहकर्मी ‘दिदा’लाई यो जर्सी उपहार दिएका थिए। पछि दिदाले यसलाई रियो दि जेनेरियोस्थित ‘म्युजियम डस एस्पोर्टेस’ मा दान गरेका थिए।

सन् २००४ मा सोही म्युजियमले यसलाई क्रिस्टिज अक्सनमा पठाउँदा यो जर्सी करिब १ लाख ५ हजार डलरमा बिक्री भएको थियो। २२ वर्षको अन्तरालमा यसको मूल्य १ लाख डलरबाट ४९ लाख डलर पुगेको हो।