काठमाडौं। आइएमई खल्ती लिमिटेडले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी)सँगको सहकार्यमा डिजिटल भिसा कार्ड सेवा सार्वजनिक गरेको छ।
डिजिटल भिसा कार्डको सुरुवातसँगै अब खल्ती प्रयोगकर्ताले भौतिक कार्डबिना मोबाइलबाटै तत्काल सुरक्षित ई-कमर्स कारोबार गर्न सक्नेछन्। यो कार्ड प्रयोग गर्दा खल्ती वालेटमा रहेको मौज्दात रकमबाट सहज रूपमा भुक्तानी गर्न सकिनेछ।
खल्तीको एकीकृत कार्ड प्लेटफर्म अन्तर्गत आगामी दिनमा प्रयोगकर्ताको आवश्यकता र विभिन्न प्रयोगका उद्देश्यलाई मध्यनजर गर्दै थप डिजिटल तथा भौतिक कार्ड सेवा सार्वजनिक गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार कार्ड प्रयोग गर्दा खल्ती वालेटमा पर्याप्त मौज्दात नभएको अवस्थामा भुक्तानी प्रक्रिया पूरा गर्न लिंक गरिएको प्राथमिक बैंक खाताबाट रकम स्वतः भुक्तानी हुने नयाँ सुविधा समेत उपलब्ध गराइएको छ।
डिजिटल भिसा कार्ड सुरुवातको अवसरमा कम्पनीले ग्राहकका लागि अफर ल्याएको छ। सम्पूर्ण ग्राहकले पहिलो ३ महिनासम्म यो डिजिटल कार्ड पूर्णरूपमा निःशुल्क पाउनेछन्।
कार्ड सक्रिय गर्नासाथ ग्राहकले १,००० दामी पोइन्ट्स र १,२०० सम्मका विभिन्न क्यास ब्याक सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार प्रयोगकर्ताले प्रत्येक ई-कमर्स कारोबारमा ०.७५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
खल्तीका प्रयोगकर्ताले एपभित्र एक मिनेटभन्दा कम समयमा कार्ड सक्रिय गरी तत्कालै प्रयोग गर्न सक्नेछन्।
कार्ड जारी भएकै मितिदेखि दराज लगायत विभिन्न इ-कमर्स प्लेटफर्म, एयरलाइन्सको टिकट खरिद, होटल तथा ट्राभल बुकिङ, खाना डेलिभरी र भिसा भुक्तानी स्वीकार गर्ने जुनसुकै अनलाइन सेवामा यसबाट सहजै भुक्तानी गर्न सकिनेछ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले खल्ती डिजिटल भिसा कार्डले नगदरहित अर्थतन्त्र निर्माण, औपचारिक डिजिटल कारोबार वृद्धि, इ-कमर्सको विस्तारमा योगदान पुर्याउने बताए।









