काठमाडौं। आइएमई समूहको मुख्य लगानीमा निर्माणाधीन जालपादेवी केबलकार दुई महिनाभित्र व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ।
जालपादेवी केबलकार प्रालिले निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएको छ। कम्पनीका अनुसार केबलकारको टप स्टेसन र बटम स्टेसनमा निर्माण हुने भौतिक संरचना द्रूत गतिमा निर्माण भइरहेको छ।
विभिन्न चरणमा गरी कुल लगानी करिब ६ अर्ब रुपैयाँ अनुमान गरिएको यस परियोजनाको पोल ठड्याउने, बटम तथा टप स्टेशन निर्माणलगायतका भौतिक पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ। यसलगत्तै तार तान्ने र गोण्डोला जडान गर्ने कार्य अघि बढ्नेछ।
कैलालीको लम्कीचुहा नगरपालिका-३ स्थित चिसापानीदेखि मोहन्याल गाउँपालिका-७ राजकाँडासम्म ३.१ किलोमिटर लामो केबलकार परियोजनाको तल्लो (बटम) स्टेसनमा पाँचतारे होटल, क्यासिनो र ब्यांक्वेट हललगायत अन्य संरचना निर्माण भइरहेका छन्।
माथिल्लो (टप) स्टेसनमा रिसोर्ट, स्काई वाक, वाकिङ ट्रेल (पदमार्ग), रेष्टुरेन्ट तथा बाल उद्यानलगायत पर्यटकीय पूर्वाधार विकास भइरहेका छन्।
राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा पूजा गरिएको छ। जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले नवनिर्मित मन्दिरमा शुक्रबार पूजा अर्चना गरेका हुन्।

कर्णाली नदी र चिसापानी पुलको मनोरम भूगोलसँगै निर्माण भइरहेको यस परियोजनालाई सुदूरपश्चिम प्रदेशको आर्थिक र पर्यटकीय विकासको ‘जग’ का रूपमा हेरिएको छ।
केबलकार सञ्चालनमा आएपछि यस क्षेत्रमा होटल, यातायात, कृषि, व्यापार र सेवा क्षेत्रले प्रत्यक्ष लाभ पाउने र रोजगारीको नयाँ ढोका खुल्ने विश्वास स्थानीय उद्योगी व्यवसायीको छ।
मूर्ति पदस्थापना कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रले निर्माण गर्ने आयोजना निर्धारित समय, लागत र गुणस्तरमा नै पूरा गर्ने क्षमता प्रमाणित गर्दै आएको बताए। ‘हामीले करिब १२ महिना पहिले यस जालपादेवी केबलकार आयोजनाको निर्माण सुरु गरेका थियौँ,’ ढकालले भने, ‘धार्मिक आस्थाको केन्द्र मानिएको मन्दिरमा मूर्तिको पदस्थापना गरिएसँगै यो आयोजना पनि हामी निर्धारित समयमै सञ्चालनमा ल्याउँदैछौँ।’
उनले देशका सातै प्रदेशमा यस्ता ठूला पर्यटकीय पूर्वाधार निर्माण गर्ने आफ्नो दीर्घकालीन लक्ष्य रहेको बताए।










