शतप्रतिशत जितसँगै मेक्सिको बन्यो समूह विजेता, कोरियालाई हराएर दक्षिण अफ्रिका नकआउटमा



बिजमाण्डू
२०८३ असार ११ गते १०:३२ | Jun 25, 2026
शतप्रतिशत जितसँगै मेक्सिको बन्यो समूह विजेता, कोरियालाई हराएर दक्षिण अफ्रिका नकआउटमा
चेक रिपब्लिक र मेक्सिकोका खेलाडी। Photo: RSS/AFP

काठमाडौं। मेक्सिको समूह ‘ए’ को विजेता बन्दै विश्वकपको नकआउट चरणमा पुगेको छ। आज सम्पन्न खेलमा चेकियामाथि ३-० गोलको प्रभावशाली जितसँगै मेक्सिको शतप्रतिशत जितसहित अन्तिम ३२ मा पुगेको हो।

Tata
GBIME
Nepal Life

त्यस्तै, आजै सम्पन्न अर्को खेलमा दक्षिण कोरियामाथि १-० गोलको कठिन जित निकाल्दै दक्षिण अफ्रिकाले पनि नकआउटमा स्थान बनायो। थापेलो मासेकोको दोस्रो हाफको निर्णायक गोलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई हराउँदै पहिलो पटक फिफा विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको हो। योसँगै उसले ४ अंक बनाउँदा ३ अंकसहित कोरिया तेस्रो स्थानमा रह्यो। शीर्षस्थानको मेक्सिकोले ३ खेलबाट ९ अंक जोड्यो।

यो समूहबाट मेक्सिको र दक्षिण अफ्रिका नकआउटमा पुग्दा दक्षिण कोरिया भने उत्कृष्ट तेस्रो स्थान प्राप्त गर्ने टोलीको सूचीमा परेर अघिल्लो चरण पुग्ने सम्भावनामा पर्खने छ।

खेलको अधिकांश समय दक्षिण कोरियाले बल नियन्त्रणमा राखे पनि उसको आक्रमण प्रभावकारी हुन सकेन। त्यसको फाइदा उठाउँदै दक्षिण अफ्रिकाले काउन्टरअट्याकको रणनीतिबाट गोल गर्‍यो।

खेलको ६०औँ मिनेटपछि मासेकोले बक्सभित्र बल नियन्त्रण गर्दै सानदार गोल गरेका थिए। त्यही गोल खेलको निर्णायक बन्यो।

उता मेक्सिकोले भने चेकियामाथि प्रभावशाली प्रदर्शन गर्‍यो।

मेक्सिको सिटीस्थित एज्टेका स्टेडियममा भएको खेलअघि नै दक्षिण अफ्रिका र दक्षिण कोरियालाई हराएर समूह विजेता बनिसकेको मेक्सिकोले टोलीमा पाँच परिवर्तन गरेको थियो। प्रशिक्षक हाभियर अग्विरेले युवा खेलाडीहरूलाई अवसर दिएका थिए र उनीहरूले त्यो विश्वासलाई उत्कृष्ट प्रदर्शनमार्फत प्रमाणित गरे।

खेलको ४८औँ मिनेटमा लेफ्ट ब्याक मातेओ चाभेजले अन्तर्राष्ट्रिय करियरको पहिलो गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए।

मेक्सिकोको दोस्रो गोलमा १७ वर्षीय गिल्बेर्टो मोराले महत्वपूर्ण भूमिका खेले। उनले जर्ज सान्चेजलाई उत्कृष्ट पास दिएपछि सान्चेजको प्रहार गोलरक्षक मातेज कोभारले रोके पनि चेक रक्षापंक्तिमा सिर्जिएको अव्यवस्थाको फाइदा उठाउँदै जुलियन क्विनोनेसले रिबाउन्ड बललाई जाली चुमाए। यो विश्वकपमा क्विनोनेसको दोस्रो गोल हो।

१७ वर्ष २५३ दिनका मोरा पुरुष विश्वकपको खेलमा सुरुआती रोजाइमा पर्ने इतिहासकै छैटौं कान्छा खेलाडी बने। उनी मेक्सिकोका लागि विश्वकपमा सुरुआती टोलीमा स्थान बनाउने सबैभन्दा कान्छा खेलाडीसमेत हुन्।

मोराको स्थानमा मैदान प्रवेश गरेका अल्भारो फिडाल्गोले खेलको अन्त्यतिर १५ यार्ड टाढाबाट आकर्षक प्रहार गर्दै तेस्रो गोल गरे र मेक्सिकोको सहज जित सुनिश्चित गरे।