आलोचना तोड्दै युरोपियन च्याम्पियन स्पेनको शानदार पुनरागमन, साउदी अरेबियामाथि एकतर्फी जित



बिजमाण्डू
२०८३ असार ८ गते ०२:२२ | Jun 22, 2026
आलोचना तोड्दै युरोपियन च्याम्पियन स्पेनको शानदार पुनरागमन, साउदी अरेबियामाथि एकतर्फी जित
मैदानमा स्पेनका खेलाडी। Photo: FIFA

काठमाडौं। स्पेनले साउदी अरबलाई हराएको छ। विश्वकप २०२६ अन्तर्गत समूह एचको खेलमा युरोपेली च्याम्पियन स्पेनले साउदी अरेबियालाई ४-० ले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो। एटलान्टामा भएको खेलमा स्पेनले पहिलो हाफमै तीन गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो।

Tata
GBIME
Nepal Life

यसअघि केप भर्डेसँग गोलरहित बराबरी खेलेर आलोचना खेपेको स्पेनले यसपटक सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्‍यो। खेलको १०औं मिनेटमा युवा स्टार लामिन यामालले मिकेल ओयारजाबालको पासमा नजिकबाट गोल गर्दै स्पेनलाई अग्रता दिलाए। यामालको विश्वकपमा यो पहिलो गोल हो।

त्यसपछि २१औं मिनेटमा ओयारजाबाल आफैंले गोल गर्दै अग्रता दोब्बर बनाए। ड्यानी ओल्मो र आयमेरिक लापोर्टेको संयोजनपछि आएको अवसरलाई सदुपयोग गर्दै उनले स्पेनलाई २-० को अवस्थामा पुर्‍याए। त्यसको तीन मिनेटपछि अर्थात् २४औं मिनेटमा ओयारजाबालले व्यक्तिगत दोस्रो गोल गरे। ओल्मोको हेड पासलाई उनले भलीमार्फत गोल गर्दै स्पेनलाई ३-० ले अगाडि बढाए।

पहिलो हाफमा नै ह्याट्रिक गर्ने अवसर पाएका ओयारजाबालको एक प्रहार क्रसबारमा लाग्दा अर्को अवसर भने सदुपयोग हुन सकेन। यद्यपि उनले एक गोलमा असिस्ट र दुई गोल गर्दै टोलीको जितमा मुख्य भूमिका खेले।

दोस्रो हाफ सुरु भएको चार मिनेटमै स्पेनले अर्को गोल थप्यो। ४९औं मिनेटमा एलेक्स बेनाको कर्नरमा कुकुरेलाको प्रहार साउदी गोलरक्षक मोहम्मद अल ओवाइसले रोके पनि रिबाउन्ड बल डिफेन्डर हसन अल ताम्बक्तीको शरीरमा लागेर गोलपोस्टभित्र छिर्यो। त्यसलाई आत्मघाती गोल बन्यो।

४-० ले अगाडि रहेपछि स्पेनले खेलमा पूर्ण नियन्त्रण कायम राख्यो। साउदी अरेबियाले निकै कम अवसर सिर्जना गर्‍यो।

इन्जुरी समयमा फेरान टोरेसले अर्को गोल गरे पनि भीएआरले यसलाई अफसाइड ठहर गरिदियो।

यस जितसँगै स्पेन चार अंकसहित समूह एचको शीर्ष स्थानमा उक्लिएको छ। साउदी अरेबियाको भने दुई खेलबाट एक अंक मात्रै रहेको छ। अब स्पेनले अर्को खेलमा उरुग्वेको सामना गर्नेछ भने साउदी अरेबियाले अन्तिम खेलमा केप भर्डेविरुद्ध जित निकाल्दै नकआउट चरण पुग्ने आशा कायम राख्नेछ।