दक्षिण कोरियालाई मुस्किलले हराउँदै मेक्सिको बन्यो अन्तिम ३२ मा पुग्ने पहिलो टोली



बिजमाण्डू
२०८३ असार ५ गते १०:४५ | Jun 19, 2026
दक्षिण कोरियालाई मुस्किलले हराउँदै मेक्सिको बन्यो अन्तिम ३२ मा पुग्ने पहिलो टोली

काठमाडौं। फिफा विश्वकप २०२६ को सह–आयोजक मेक्सिको अन्तिम ३२ मा पुग्ने पहिलो टोली बनेको छ। समूह ‘ए’ अन्तर्गत आज सम्पन्न खेलमा दक्षिण कोरियामाथि कठिन १–० गोलको जित निकाल्दै मेक्सिकोले अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो। यसअघि उद्घाटन खेलमा उसले दक्षिण अफ्रिकालाई हराएको थियो।

Tata
GBIME
Nepal Life

शुक्रबार ग्वाडालाजारा रंगशालामा भएको खेलमा मेक्सिकोको जितमा लुइस रोमोले गरेको एक मात्र गोल निर्णायक बन्यो। यो जितसँगै मेक्सिको दुई खेलबाट ६ अंक जोड्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ।

खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरीमा टुंग्याएका थिए। दुवै टोलीले मध्य मैदानमा कडा प्रतिस्पर्धा गरे पनि स्पष्ट अवसर सिर्जना गर्न सकेका थिएनन्। मेक्सिकोले केही आक्रमण बुने पनि दक्षिण कोरियाका गोलरक्षक किम सुङ-ग्युले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा कायम राखेका थिए।

तर, दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै मेक्सिकोले अग्रता लियो। जुलियन किन्योनेसको क्रसलाई गोलरक्षक किम सुङ–ग्युले राम्रोसँग नियन्त्रणमा लिन नसकेपछि बल पेनाल्टी क्षेत्रभित्रै खस्यो। सोही अवसरमा लुइस रोमोले हावामै भली प्रहार गर्दै खाली पोस्टमा गोल गरेका थिए।

एक गोलले पछि परेको दक्षिण कोरियाले त्यसपछि लगातार दबाब सिर्जना गर्यो। कप्तान सोन ह्युङ-मिन, ली काङ-इन तथा वैकल्पिक खेलाडी चो गुए-सुङ र याङ ह्युन-जुनले गोलका अवसर पाए पनि मेक्सिकन गोलरक्षक राउल रान्गेल बाधक बने।

खेलको ८७औँ मिनेटमा दक्षिण कोरियाले बराबरी गर्ने सुनौलो अवसर खेर फाल्यो। इओम जी–सुङको उत्कृष्ट क्रसमा चोको हेडरलाई रान्गेलले बचाउ गरे भने रिबाउन्डमा आएको प्रहारसमेत उनले आश्चर्यजनक रूपमा रोक्दै मेक्सिकोको अग्रता जोगाए।

त्यसपछि थप गोल हुन नसक्दा मेक्सिकोले १–० को जित हात पार्यो।

दोस्रो खेलमा पराजित भएको दक्षिण कोरियाको नकआउट सम्भावना भने अझै जीवित छ। उसले समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। उता, पहिले नै अन्तिम ३२ मा पुगिसकेको मेक्सिकोले आफ्नो अन्तिम समूह खेलमा चेकियाको सामना गर्नेछ।