काठमाडौं। साताको दोस्रो दिन पनि सुनचाँदीको कारोबार मूल्यमा बढोत्तरी छ। अघिल्लो दिनका तुलनामा सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको छ भने चाँदी १ सय २० रुपैयाँ महँगिएको छ।
सोमबारका लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९८ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार प्रति तोला २ लाख ९३ हजार २ सय रुपैयाँ भएको थियो। गत शुक्रबारका तुलनामा आइतबार तोलामा १ हजार २ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो। गत शुक्रबार तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँ थियो।
चाँदी सोमबार प्रति तोला ५ हजार १५ रुपैयाँ भएको छ। अघिल्लो दिनको भन्दा तोलामा १२० रुपैयाँ बढेको हो। आइतबार प्रति तोला ४ हजार ८९५ रुपैयाँ थियो।
इरान र अमेरिकाको युद्ध रोक्न सहमति भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। तेलको मूल्य घट्न थालेपछि सुनको मूल्य उकालो लागेको हो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सोमबार प्रति औंस ४३३०.९२ डलर र चाँदी प्रति औंस ७०.५ डलर पुगेको छ।











