‘युवाहरूले विदेशिनै पर्ने बाध्यता अन्त्यका लागि सरकारले बजेटबाट जग बसालेको छ’



बिजमाण्डू
२०८३ जेठ ३१ गते १६:५० | Jun 14, 2026
‘युवाहरूले विदेशिनै पर्ने बाध्यता अन्त्यका लागि सरकारले बजेटबाट जग बसालेको छ’

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र त्यसको सुरुवात बजेटबाट गरेको बताएका छन्।

Tata
GBIME
Nepal Life

मन्त्री वाग्लेले आइतबार काठमाडौंमा राष्ट्रिय युवा उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै युवाहरुले विदेशिनुपर्ने बाध्यताको अन्त्यका लागि बजेटले जग बसालेको दाबी गरे।

‘पछिल्लो १५/२० वर्षदेखि देशका युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता आइलागेको छ,’ उनले भने, ‘अब त्यस्तो स्थिति आउन नदिनका लागि जग बसाल्न बजेटबाट सुरु गरेका छौं। त्यो बुझ्न बजेट पढ्नुहोस्। बजेटको कार्यान्वयनले त्यसको बाटो समात्छ।’

वाग्लेले करमा सहुलियत, बक्यौता उल्झनमा रहेका उद्यमी/व्यवसायीलाई छुट, सरकारी प्रशासनमा डिजिटलाइजेसन र सुशासनका एजेन्डा कार्यान्वयनले देश निर्माणको नयाँ बाटोको संकेत गरेको बताए।

उनले करको उल्झनमा परेका उद्योगी व्यवसायीलाई नयाँ सुरुवात गर्नका लागि प्रोत्साहित गर्न बजेटमार्फत सहुलियत दिने घोषणा गरेको भन्दै त्यसको फाइदा लिन आग्रह गरे। युवाहरूको उद्यमशील सोच र योजनालाई फैलाउने गरी बजेट बनाएको वाग्लेको दाबी छ।