ट्रम्पले इरानसँग युद्ध रोकिएको भनेपछि कच्चा तेलको मूल्य प्रति ब्यारेल ८५ डलरमा झर्‍यो



बिजमाण्डू
२०८३ जेठ २९ गते १२:४४ | Jun 12, 2026
ट्रम्पले इरानसँग युद्ध रोकिएको भनेपछि कच्चा तेलको मूल्य प्रति ब्यारेल ८५ डलरमा झर्‍यो

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध रोकिएको बताए पछि कच्चा तेलको मूल्य शुक्रबार प्रति ब्यारेल ८५ डलरमा आएको छ। एक महिना अगाडि प्रति ब्यारेल ११२ डलरमा पुगेको कच्चा तेलको मूल्य शुक्रबार ९० डलरभन्दा तल कारोबार भइरहेको हो।

Tata
GBIME
Nepal Life

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनले इरानसँग एक रुपरेखा सम्झौतामा पुगेको र ‘आज युद्ध समाप्त भएको’ बताएका हुन्। यसले खाडीमा तनाव कम हुने संकेतहरु देखिएपछि विश्वव्यापी कच्चा तेलको मूल्यमा भारी गिरावट आएको हो। तर, इरानी पक्षले भने ट्रम्पको दाबी स्वीकार गरेको छैन।

शुक्रबार वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) बेन्चमार्क भएको कच्चा तेलको मूल्यमा प्रति ब्यारेल ८५ डलरमा कारोबार भइरहेको छ। बिहिबार उक्त बेन्चमार्कको प्रति ब्यारेल ८९ डलरमा कारोबार भएको थियो।

यस्तै अर्को बेन्चमार्क ब्रेन्ट क्रुड आयालको मूल्यमा पनि भारी गिरावट आएको छ। यसको शुक्रबार प्रति ब्यारेल ८८ डलरमा कारोबार भइरहेको छ। बिहिबार भने उक्त ब्रेन्टको प्रति ब्यारेल ९३ डलरमा कारोबार भइरहेको थियो।

जर्जियाका गभर्नर बर्ट जोन्सको समर्थनमा टेलि-र्‍यालीमा बोल्दै ट्रम्पले भनेका थिए, ‘मलाई थाहा छैन तपाईले सुन्नुभयो कि भएन, तर हामीले आज इरानसँगको युद्ध समाप्त गर्‍यौं।’

साथै, अमेरिकी राष्ट्रपतिले द्वन्द्वको समयमा धेरै पटक गरेका दाबीहरु दोहोर्याउँदै आगामी केही दिनमा सम्झौता पत्रमा हस्ताक्षर हुने अपेक्षा रहेको बताएका छन्। उनले सम्झौता अन्तिम रुप पाएपछि हर्मुज फेरि खुल्ने पनि बताए।