चिकित्सक लाइसेन्स परीक्षामा चितवन मेडिकल कलेज उत्कृष्ट, ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण



बिजमाण्डू
२०८३ जेठ २१ गते ०७:१८ | Jun 4, 2026
चिकित्सक लाइसेन्स परीक्षामा चितवन मेडिकल कलेज उत्कृष्ट, ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण
चितवन मेडिकल कलेज।

चितवन। नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सीएमसी) उत्कृष्ट भएको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सीएमसीले ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर यस वर्ष सर्वाेत्कृष्ट बन्न सफल भएको छ।

Tata
GBIME
Nepal Life

यही जेठ १२ देखि १५ गतेसम्म काउन्सिलले संचालन गरेको ‘लाइसेन्स’ परीक्षामा सीएमसी कलेजबाट ‘एमबीबीएस’ तह उत्तीर्ण गरेका ५८ विद्यार्थीमध्ये ५४ जना सफल भएका हुन्। काउन्सिलले सार्वजनिक गरेको विवरणअनुसार समग्रमा यस वर्ष एमबीबीएसतर्फ ६३.५० प्रतिशत र बीडीएसतर्फ ८१.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

यसैगरी, उक्त परीक्षामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९२.२१ प्रतिशत अर्थात् ७७ मध्ये ७१ उत्तीर्ण गराई दोस्रो र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको ८९.७७ प्रतिशत अर्थात् ८८ मध्ये ७९ जना उत्तीर्ण गराई तेस्रो हुन सफल भएका छन्।

यसैगरी, भारतमा पढेका ४२.३१ प्रतिशत, बङ्गलादेशमा पढेका ४१.१४ प्रतिशत, चीनमा अध्ययन गरेका १५.०४ प्रतिशत र फिलिपिन्समा पढेका २८.५७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण हुन सफल भएका छन् भने इजिप्ट र रसियामा पढेकाहरूले पुनः परीक्षा दिनुपर्ने भएको छ।

काउन्सिलको नतिजाअनुसार नेपाल बाहिर पढेका विद्यार्थीले सात/आठ पटक परीक्षा दिने गरेका तर नेपालका मेडिकल कलेजमा पढेकाले बढीमा २ पटकमै परीक्षा उत्तीर्ण गरेको यथार्थलाई विश्लेषण गर्दा चिकित्सा विधामा नेपालको पढाइ सन्तोषजनक छ। काउन्सिलका अनुसार नेपालको समग्र नतिजा राम्रो भए पनि विदेशका मेडिकल कलेजमा पढेका नेपाली विद्यार्थीको नतिजाले सम्बद्ध सबैलाई पुनः चिन्तित बनाएको छ।

यसै सन्दर्भमा चितवन मेडिकल कलेजका उपनिर्देशक अरुण कोइरालाले मेडिकल कलेजहरूको शैक्षिक गुणस्तरको मानकका रुपमा लिइने काउन्सिलको यस वर्षको परीक्षामा उत्कृष्ट स्थान हासिल गरेको सीएमसीको उत्पादन गर्व गर्न लायक रहेको बताए। कुशल व्यवस्थापनसहित सीएमसीमा कार्यरत शैक्षिक तथा प्रशासनिक जनशक्तिको खटाइ र विद्यार्थीको मेहनतका कारण सर्वाेत्कृष्ट हुन सफल भएको उनले स्पष्ट पारे।

उपनिर्देशक कोइरालाले भने, ‘आउँदा दिनमा शतप्रतिशत नतिजा प्राप्त गर्ने लक्ष्यका साथ अघि बढ्ने छौँ। स्वदेश तथा विदेशका प्रतिभावान् विद्यार्थीहरूको पहिलो रोजाइमा ‘सीएमसी’ पर्नेगरी सम्पूर्ण टिम परिचालित हुनेछ।’

सीएमसी कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेले शैक्षिक गुणस्तरका पक्षमा कुनै पनि सम्झौता नगरी अघि बढेकाले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए। उनले देशकै करिब मध्यभागमा अवस्थित चितवनको भरतपुरमा अवस्थित सुविधासम्पन्न सीएमसी शिक्षण अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको, प्रयोगात्मक कक्षालाई उच्च प्राथमिकता दिएका, अनुभवी एवम् क्षमतावान् शिक्षक तथा कर्मचारीको व्यवस्था गरिएको र पठनपाठनसहित अनुशासनलाई प्राथमिकता दिएकाले पछिल्ला वर्षहरूमा अब्बल विद्यार्थीको रोजाइमा सीएमसी कलेज परेको स्पष्ट पारे।

सो कलेजमा स्नातक तहको एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएस्सी मिडवाइफरी, पब्लिक हेल्थ, फार्मेसी, बीएस्सी एमएलटी (ल्याब), बीएस्सी एमआइटी (रेडियोग्राफी) को पढाइ हुने गरेको छ। यसैगरी, स्नातकोत्तर तहमा एमडी/एमएस, एमएन, एमपीएच, एमएस्सी माइक्रोबायोलोजी र विशिष्टीकृततर्फ एमडी/एमसीएचको पढाइ हुने सो कलेजले जनाएको छ।

सो क्याम्पसमा अहिले विभिन्न विधा र तहमा गरी १ हजार ४०० विद्यार्थी अध्ययनरत रहेका क्याम्पस प्रशासनले जनाएको छ। रासस