काठमाडौं। सेयर बजारमा बीमा कम्पनीले ४०.९२ प्रतिशतले लगानी बढाएका छन्। आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासम्म आइपुग्दा जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीले सेयर बजारमा ५६ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ लगानी गरेका हुन्।
पोहोर चैतसम्म जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीले सेयर बजारमा ४० अर्ब ८ करोड रुपैयाँ लगानी गरेकामा त्यसयताको एक वर्षमा १६ अर्ब ४० करोड २१ लाख रुपैयाँ थपिएको छ।
फागुन २१ गतेको निर्वाचनदेखि चैत दोस्रो सातासम्म सेयर बजार बढ्दा इन्स्योरेन्स कम्पनीले सेयर बजारमा लगानी बढाएका हुन्। बजारमा संस्थापक लगानीकर्ताका रुपमा रहेका इन्स्योरेन्स कम्पनीले मुद्दती निक्षेपको रकम विभिन्न उपकरणमा लगानी गर्दै आएका छन्।
यो वर्ष चैतसम्म जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीको कुल लगानी ९ खर्ब ७५ अर्ब ६७ करोड ५७ लाख रुपैयाँ पुगेकामा उनीहरुले त्यसको ५.७९ प्रतिशत पैसा सेयर बजारमा हालेका छन्।
बैंकहरूले ब्याजदर निरन्तर घटाउँदा मुद्दती निक्षेपले लागत धान्न नसक्ने देखिएपछि बीमा कम्पनीले सेयर बजारमा लगानी बढाएका हुन्।
सेयर बजारमा लगानी गर्ने मामिलामा जीवन बीमा कम्पनी आक्रामक देखिएका छन्। यो वर्ष चैत मसान्तसम्म आइपुग्दा जीवन बीमा कम्पनीले ४६ अर्ब ११ करोड रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा लगानी गरेका छन्। जीवन बीमा कम्पनीले सेयर बजारमा पछिल्लो एक वर्षमा ३९.४१ प्रतिशतले लगानी बढाएका छन्।
पोहोर चैतसम्म सेयर बजारमा जीवन बीमा कम्पनीको लगानी ३३ अर्ब ७ करोड ९२ लाख रुपैयाँ थियो। सेयर बजारमा सन नेपाल र राष्ट्रिय जीवन बीमा बाहेकका कम्पनीले लगानी बढाएका छन्।
| जीवन बीमा कम्पनी | २०८२/८३ चैतसम्म सेयरमा लगानी (रु. लाखमा) | २०८१/८२ चैतसम्म सेयरमा लगानी (रु. लाखमा) | फरक % |
| हिमालयन लाइफ | १२४६८४.२४ | १०६३८९.५८ | १७.१९६ |
| नेपाल लाइफ | ६९६३३.९१ | ४८८५९.४५ | ४२.५१९ |
| सूर्यज्योति लाइफ | ५१५६१.९१ | २७०४५.५४ | ९०.६४८ |
| लाइफ इन्स्योरेन्स कर्पोरेसन | ३१३५२.५५ | २४२७७.९६ | २९.१४ |
| नेसनल लाइफ | ३०२४८.९५ | १३२९५.०१ | १२७.५२१ |
| आइएमई लाइफ | २८८३५.२० | १३४८०.१४ | ११३.९०९ |
| रिलायबल नेपाल | २८४१६.११ | १३४६८.०२ | ११०.९९ |
| प्रभु महालक्ष्मी | २३३४६.२६ | १६७०५.९९ | ३९.७४८ |
| सानिमा रिलायन्स | २०७३९.६९ | ७९४५.३४ | १६१.०३ |
| सन नेपाल लाइफ | १५९३८.६७ | १७२८३.२५ | -७.७८ |
| सिटिजन लाइफ | १५४९४.४४ | ९६११.२४ | ६१.२१२ |
| एसियन लाइफ | १४१४३.९७ | १०८३६.५३ | ३०.५२१ |
| राष्ट्रिय जीवन बीमा कम्पनी | ६७८१.८२ | २१५९४.८४ | -६८.५९५ |
| कुल | ४६११७७.७२ | ३३०७९२.८९ | ३९.४१६ |
जीवन बीमकको कुल लगानी ८ खर्ब ७५ अर्ब २४ करोड ५३ लाख रुपैयाँ पुगेको छ। अधिकांश रकम मुद्दतीमा राखेका बीमा कम्पनीले बैंकको ब्याजदर घटेर २ प्रतिशतमा आएपछि लागत धान्न नसक्ने स्थितिले लगानीको वैकल्पिक उपकरण खोजिरहेका छन्।
बीमा कम्पनीले सेयर बजारमा लगानी गर्नकै लागि नेपाल धितोपत्र बोर्डबाट क्यापिटलको अनुमति लिएर सामूहिक कोष सञ्चालन गरिरहेका छन्।
जीवन बीमकले बजारमा पोर्टफोलियो लगानीका लागि बन्द र खुलामुखी प्रकृतिका सामूहिक लगानी कोष निष्कासन गरेर विभिन्न कम्पनीमा लगानी गरिरहेका छन्।
यो वर्ष तेस्रो त्रैमाससम्म निर्जीवन बीमकले सूचीकृत कम्पनीको सेयरमा ५ अर्ब ४४ करोड रुपैयाँ लगानी गरेका छन्। यो रकम पोहोर चैतसम्मको तुलनामा १९.७३ प्रतिशत धेरै हो। सानिमा जीआइसी, शिखर र प्रभु इन्स्योरेन्सबाहेकले यो वर्ष बजारमा लगानी बढाएका हुन्।
गत वर्ष चैत मसान्तसम्म सेयर बजारमा निर्जीवन बीमकको लगानी ४ अर्ब ५४ करोड रुपैयाँ थियो।
| निर्जीवन बीमा कम्पनी | २०८२/८३ चैतसम्म सेयरमा लगानी (रु. लाखमा) | २०८१/८२ चैतसम्म सेयरमा लगानी(रु. लाखमा) | फरक % |
| राष्ट्रिय बीमा कम्पनी | ७९४१.८८ | ७९४१.८८ | ० |
| सगरमाथा लुम्बिनी | ७७३६.०४ | ५०१३.७३ | ५४.२९७ |
| नेको इन्स्योरेन्स | ६२४९.७० | ५९६८.२१ | ४.७१६ |
| सिद्धार्थ प्रिमियर | ५८५५.५५ | ५०३५.६३ | १६.२८२ |
| हिमालयन एभरेष्ट | ४९७२.४४ | २९२९.०२ | ६९.७६५ |
| आइजीआइ प्रुडेन्सियल | ४७७९.८४ | ४६२७.०० | ३.३०३ |
| युनाइटेड अजोड | ४७१५.७९ | १६२७.०४ | १८९.८३९ |
| सानिमा जीआइसी | ३४१२.०६ | ३५१२.२५ | -२.८५३ |
| नेपाल इन्स्योरेन्स | ३३५९.२६ | ३३२८.७३ | ०.९१७ |
| शिखर इन्स्योरेन्स | २४२१.२८ | २७२७.७८ | -११.२३६ |
| एनएलजी इन्स्योरेन्स | २१३०.११ | १६०१.०९ | ३३.०४१ |
| प्रभु इन्स्योरेन्स | ८९१.२८ | ११७४.२४ | -२४.०९७ |
| कुल | ५४४६५.२३ | ४५४८६.६० | १९.७३९ |
पुनर्बीमातर्फ हिमालयन रिइन्स्योरेन्सले सेयर बजारमा लगानी ७९.१७ प्रतिशतले बढाएर ४ अर्ब २३ करोड पुर्याएको छ।
सरकारको लगानी रहेको नेपाल रिइन्स्योरेन्सले सेयर बजारमा ६९ करोड १२ लाख रुपैयाँ लगानी गरेको छ।
नेपाल बीमा प्राधिकरणले लगानीका लागि इन्स्योरेन्स कम्पनीलाई क्षेत्रसहित सीमा तोकेको छ। बीमा कम्पनीले सूचीकृत कम्पनीको सेयरमा १० प्रतिशत बढी लगानी गर्न परे प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था लगानी निर्देशिकामा गरिएको छ।
बैंकको ब्याजदर निरन्तर ओरालो लागेका कारण लगानीको नयाँ उपकरण नपाएपछि सेयर बजारमा लगानी बढाएको बीमकहरुले बताएका छन्। तर बैंकको ब्याजदर न्यून भएका कारण सेयर बजारमा लगानी बढाए पनि नेप्से ओरालो लागेका कारण त्यहाँ समेत धक्का लागेको उनीहरुको भनाइ छ।










