काठमाडौं। नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति ६ सदस्यीय बनाइएको छ। प्राधिकरणको सञ्चालक समिति यसअघि ५ सदस्यीय रहेकामा सरकारले कानुन संशोधन गरेर ६ सदस्यीय बनाएको हो।
सरकारले अध्यादेशमार्फत बीमा ऐन संशोधन गरेर सञ्चालक समितिमा अब भौतिक पूर्वाधार मन्त्रालयका प्राविधिक सहसचिव सदस्य रहने व्यवस्था गरेको छ।
अब प्राधिकरणको सञ्चालक समितिमा तीन जना सहसचिव रहनेछन्। यसअघि सरकारका तर्फबाट अर्थ र कानुन मन्त्रालयका सहसचिव सञ्चालक रहने व्यवस्था थियो।
भौतिक पूर्वाधार मन्त्रालयका सहसचिवको प्रतिनिधित्वका लागि प्राधिकरणको अध्यक्ष वा सदस्यको योग्यतामा ‘इन्जिनियरिङ’ शब्द थपिएको छ।
यस्तै सार्वजनिक पूर्वाधार निर्माणको बीमाको व्यवस्था पनि ऐनमा थपिएको छ।










